दिनमा कतिवटा आँप खाने? मधुमेहका बिरामीलाई कति उपयुक्त?

अहिले फलफूलको राजा अर्थात् आँपको सिजन छ । प्रायः नेपालको सबै भू–भागमा पाइने आँप धेरैको प्रिय फल हो । पाक्दा र काँचो हुँदा दुवै समयमा काम लाग्ने आँपका धेरै फाइदा छन् । 

वैज्ञानिक दृष्टिकोणबाट पनि आँप मानव स्वास्थ्यका लागि निकै लाभदायिक फल मानिन्छ । मुटुरोग विशेषज्ञ डाक्टर ओम मूर्ति अनिल पनि यो कुरामा सहमति जनाउँछन् । 

‘आँप  वैज्ञानिक दृष्टिकोणमा पनि राम्रो फलको रूपमा चिनिन्छन् । यो मधुमेहको बिरामीको लागि पनि राम्रो छ, किनभने यसले आन्द्राबाट ग्लुकोजको मात्रा घटाउँछ, कोलेस्ट्रोलका विरामीका लागि पनि धेरै राम्रो छ । साथै, आँपले ब्लड प्रेसर पनि घटाउँछ । यसमा भएका भिटामिन ए, बी, सी, केलगायत धेरै खनिजहरू छ । आँपमा पोटासियम र म्याग्नेसियम बढी छ, जसले ब्लड प्रेसर घटाउन मद्दत गर्छ । साथै, आँप मुटुको बिरामीको लागि राम्रो मानिन्छ,’ डा. अनिलले भने, ‘आँपका सोडियम कम छ, त्यो बिपीको बिरामीको लागि राम्रो भयो । यसमा आइरन पनि बढी पाइन्छ, क्याल्सियम पनि छ । विभिन्न दृष्टिकोणबाट हेर्दाखेरि आँप स्वास्थ्यका लागि उपयोगी छ ।’

उनी अगाडि थप्छन्, ‘आँपमा फाइबरको मात्र पनि धेरै छ, इन्सुनिल मेटापोलिजममा पनि यसको अप्रत्यक्ष प्रभाव रहन्छ । कुल मिलाएर हेर्दाखेरि अत्यन्तै लाभदायिक छ आँप ।’ डा. अनिलले सैद्धान्तिक कुरासँगै प्रयोगात्मकरूपमा आँपले पुर्याएको फाइदा पनि सुनाए । 

‘म बिरामीलाई आँप धेरै खानु भनेर कहिले पनि आग्रह गर्दिनँ । किनभने यसको पछाडि केही व्यवहारिक कारण छन्, विशेषगरी म मधुमेहका बिरामीको लागि आँप कति खाने भन्नेबारे जानकारी गराउँदैछु– मधुमेहको  बिरामीमा कुल मिलाएर उसको दिनभरी बिहानदेखि रातिसम्म के खाने भन्नेबारे फिक्स हुन्छ । प्रायः बिरामीको औषधि, खाना, अभ्यास पनि फिक्स नै हुन्छ । मानौं एउटा बिरामीले बिहानदेखि साँझसम्म १८ सय ग्राम क्यालोरी खाइरहेको छ, अब सिजनमा मधुमेहका बिरामीले आँप खान थाल्यो भने के हुन्छ? हामीले त भन्यौं स्वास्थ्यका दृष्टिकोणले आँप राम्रो हो । त्यसपछि मधुमेहका बिरामीले आँप खानुपर्छ भन्ने बुझ्छन्, एउटा आँपमा १४० ग्राम क्यालोरी हुन्छ । तपाइँ यसअघि दैनिक १८ सय ग्राम क्यालोरी खाइरहनुभएको छ, अब एउटा आँप थप्नुभयो भने तपाइँको दैनिक क्यालोरी १९४० पुग्छ । त्यसैले अधिकांश बिरामी सुगर बढ्यो भनेर आउँछन्, किन बढ्योभन्दा उनीहरू आँप खाएको थिए भन्छन्,’ उनले भने । 



डाक्टर अनिलले मधुमेहका बिरामीले आफ्नो दैनिक क्यालोरीको मात्रा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे पनि जानकारी गराए ।

‘यदि बिरामीले आफ्नो खाना (भात, रोटी आदि) बाट १४० क्यालोरी निकालेर एउटा आँप खाएमा उसलाई कुनै प्रकारको नोक्सान हुँदैन, बिरामीलाई बरु फाइदा हुन्छ । अरूभन्दा आँप धेरै राम्रो हो । तर, क्यालोरीको व्यवस्थापन गर्न नसक्दा कुरा बिग्रिन सक्छ,’ उनले भने,  ‘एउटा आँप खाएमा १८ सय ग्राम क्यालोरी व्यवस्थापन गर्नका लागि हामीले दुईवटा रोटी कम खान सक्छौं । दुईवटा रोटीमा झण्डै १४० क्यालोरी हुन्छ । जस्तैः राति तपाइँले चारवटा रोटी खानुहुन्छ भने आँप खाएमा दुईवटा रोटी मात्र खानुपर्‍यो । त्यस्तै, भातको कुरा गर्दा एक कचौरा भातमा १४० क्यालोरी हुन्छ । त्यसमा पनि मधुमेहका बिरामीले यति एक कचौरा भात कम गरेर एउटा आँप खानुभयो भने त्यसले फाइदा नै गर्छ ।’ 



डा. अनिलले स्वास्थ्यकर्मीले आँप स्वास्थ्यका लागि फाइदाजनक हुने बताउने गरेको भए पनि यसको मात्राको विषयमा पनि जानकारी नदिने गरेको पाइएको पनि उल्लेख गरे ।

‘मैले केही आर्टिकलहरू पढे, केही विषयगत जानकार डाक्टरहरूले पनि एक दिनमा डेढ सय ग्रामसम्म आँप खान मिल्छ भनेर बताइरहनुभएको छ । यो कुरा एकदमै सही हो । दिनमा तपाइँ सयदेखि  डेढ सय ग्राम आँप खान सक्नुहुन्छ । तर, डाक्टरहरू १८ सय क्यालोरीबाट डेढ सय क्यालोरी हटाउनुपर्यो अनि त्यसमा आँप थप्नुपर्‍यो भन्ने कुरा बिर्सिनुहुन्छ । प्रायः हाम्रो परिवेशमा अधिकांश व्यक्तिले नियमित फल खाँदैनन् । फलको नाममा आँप सजिलै पाइने, जहाँ पनि पाइने भएका कारण सिजनमा यो नियमित थपिँदा खेरी समस्या हुन्छ,’ उनले भने, ‘मानौं तपाइँ दिनमा स्याउ वा अरू फल खानुहुन्छ भने त्यो फल निकाल्दिनुस् । र, त्यति बराबरको क्यालोरी आँपबाट लिनुहुन्छ । दुईवटा स्याउ बराबर एक आँपमा बढी नै क्यालोरी हुन्छ ।  त्यसैले यो कुरा विचार गर्न जरुरी छकि आँपमा भएका खानेकुराहरू अत्यन्तै राम्रो हो । दिनमा एकदेखि डेढ सय ग्राम मधुमेहका विरामीका लागि पनि उत्तम हो । अझ तपाइँले यसलाई एकैपटक नभएर दिनमा तीनपटक गरेर खानुभयो अझै राम्रो हो ।’ यो सामग्री डा. ओम मूर्ति अनिलले आफ्नो फेसबुकमा पोस्ट गरेको भिडियोको आधारमा तयारी पारिएको हो ।

आँप खानुका केही फाइदा  

फाइबर र भिटामिन सीको भण्डार : आँपमा हुने फाइबर र भिटामिन सिको पर्याप्त मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।

शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ : यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।

पाचन प्रक्रिया राम्रो बनाउँछ : मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउँछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ । 

खनिजयुक्त : आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखा पर्छन् ।

  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १०:४८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया