पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो । दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ ।
भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले जानकारी दिए । दुवै नगरले पर्यटन प्रवर्द्धन र अन्य विकासका काममा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले दुई नगरबीचको सहकार्यलाई अझै प्रगाढ र निरन्तर बनाउनुपर्ने बताए । ‘भगिनी सम्बन्ध गाँसिएको छ । यसलाई औपचारिकतामा मात्रै राख्नु हुन्न,’ उनले भने, ‘एकआपसका असल अभ्यास सेयरिङ गर्नुपर्छ । पर्यटनमा सहकार्य हुनुपर्छ ।’
दुवै नगरले आफ्नो क्षेत्रमा आएका पर्यटकलाई अर्को सहरमा पठाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।