चर्चित सञ्चारकर्मी रवि लामिछानेले सञ्चारकर्मबाट अलग्गिएर राजनीतिक यात्रा सुरु गरेका छन् ।
मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नयाँ पार्टी खोल्दै राजनीतिमा होमिएको घोषणा गरे । उनले राजनीतिमा लाग्ने भन्दै केही दिन पहिले आफूले काम गर्दै आएको सञ्चारमाध्यमबाट अलग्गिएका थिए ।
उनले आफूले खोल्न लागेको पार्टीको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी' जुराएका छन् । पार्टी दर्ताका लागि उनले मंगलबार नै निर्वाचन आयोगमा पुगेर निवेदनसमेत दिएका छन् । उनी सो पार्टीको सभापति रहेका छन् । पार्टीमा २१ जनाको कार्यसमिति रहने छ ।
अहिले उनले राखेको पार्टीको नामबारे चर्चा चलिएको छ । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका सहितका विभिन्न स्वतन्त्रबाट उठेका उम्मेदवार निर्वाचित भएपछि यो शब्द धेरै चर्चामा हरेको छ । लामिछानेले पनि आफ्नो पार्टीको नाम स्वतन्त्र राखेपछि सबैको चासो यसमा छ ।
दल दर्ताका लागि निर्वाचन आयोग पुगेका लामिछानेलाई सञ्चारकर्मीले सोधे, पार्टीको नाममा स्वतन्त्र चयन गर्नुको कारण के हो ?
उनले प्रश्नको जवाफमा अहिले स्वतन्त्रको माहोल रहेकाले आफूले नाम स्वतन्त्र राखेको प्रस्ट पारेका छन् । उनले सबैका लागि सजिलो बनाउनका लागि यो नाम लिएको सुनाए ।
'अहिले स्वतन्त्रको माहोल भएकोले अहिले त्यसलाई पनि समेट्न सकिन्छ भनेर हो । तर, संसारका अरू देशमा पनि स्वतन्त्र शब्दहरूको प्रयोग आ-आफ्नै भाषामा भइरहेको प्राक्टिस पनि देखेँ । त्यसले गर्दाखेरी वर्तमान समयलाई पनि सान्दर्भिक गराउन सकिन्छ र धेरै स्वतन्त्र साथीहरूलाई आह्वान गरेको छु,' उनले भने ।
उनले अबको चुनाव स्थानीय तहको जस्तो नहुने भन्दै स्वतन्त्र रूपमा उठ्ने घोषणा गरेका उम्मेदवारलाई पनि आफ्नो पार्टीमा आवद्ध हुन आग्रह गरे ।
'अहिले स्वतन्त्र रूपमा लागिरहनुभएको छ, यो प्लेटफम उहाँहरूका लागि पनि हो,' उनले भने ।
चुनाव चिह्न घण्टी
लामिछानेले पार्टी घोषणा गर्दै चुनाव चिह्न घण्टी प्रस्ताव गरेका छन् । उनी पार्टी घोषणा गर्नुभन्दा पहिला पशुपति क्षेत्रमा पुगेको र चुनाव चिह्न पनि घण्टी राखेको भन्दै सञ्चारकर्मीहरूले पार्टी हिन्दु धर्मप्रति लचिलो हुने त होइन भनेर प्रश्न गरेका थिए ।
जवाफमा उनले भने, 'घण्टीका धेरै सिम्बल छन् । आध्यात्मिक सिम्बलका रूपमा यसलाई हेर्न हामीलाई कति पनि आपत्ति छैन, किन भने आध्यात्मिकतालाई पनि हामीले अभ्यासमा ल्याएका चिज हो । यसलाई एउटा जनाउ घण्टीका रूपमा बुझ्दा पनि हुन्छ । हाम्रो संकेत नयाँ ढंगबाट हामी आएका छौँ । हामी बेथितिविरुद्धको एउटा घण्टी हो । हामीले यसलाई यस रूपमा लिएका छौँ,' उनले भने ।
उनले आफूले निर्वाचन क्षेत्र तय नगरेको बताए । उनले आम सर्वसाधारणसँग छलफल गरेर आफूले निर्वाचन क्षेत्र तय गर्ने बताए । उनले आफूले मात्र नभई पार्टीलाई पनि जिताउनुपर्ने हुँदा देशभरका जनताको राय लिएर अगाडि बढ्ने सुनाए ।
'जहाँ सबैभन्दा बढी विकृति होला, त्यहाँ आवश्यकता होला समय कालले त्यसलाई बताउला । अहिले मैले त्यो निर्णयको चरणमा पुगेको छैन,' उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।