जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
फरकधार / ७ असार, २०७९

बागलुङको ताराखोला गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गराउने नीति कार्यान्वयनमा लैजाने भएको छ । 



सो गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९–८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विद्यालयलाई गुणस्तरीय बनाउने र विद्यार्थीको संख्यामा वृद्धि गराउनका लागि सरकारी सेवामा रहेको शिक्षक तथा कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठाउनुपर्ने नीति ल्याएको छ । 

गाउँपालिका अध्यक्ष धनबहादुर विकले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई जोड दिइएको छ । 



गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशुपालनलाई मुख्य प्राथमिकता दिएको छ । पालिकामा व्यावसायिक पशुपालनलाई वृद्धि गरी दुग्ध संकलन केन्द्र स्थापना गर्ने, दुग्धजन्य पदार्थको उत्पादन प्रशोधन भण्डारण तथा बजारीकरण गर्ने, पशुमा कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन गर्ने, नर्सरी निर्माण गरी आवश्यक बीउ तथा बिरुवा उत्पादन गरिने, बाँझो जग्गालाई खेतीयोग्य जग्गामा परिणत गर्ने, कृषि बिमा कार्यक्रम सञ्चालन गर्ने, फलफूल दशक बिरुवा रोपण कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । 



त्यस्तै, उद्योग वाणिज्यतर्फ नेपाली कागज अल्लो, धागो तथा निगालोबाट निर्मित वस्तुहरु उत्पादनका लागि सीप विकास तालिम र प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिने ताराखोलाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

संघ तथा प्रदेश सरकारसँगको समन्वयमा निजी तथा सार्वजनिक स्थल तथा सामुदायिक क्षेत्रमा रहेका ढुंगा उत्खननका लागि वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी अध्ययन गर्न सहजीकरण गर्ने नीति गाउँपालिकाले लिएको छ ।

पर्यटनतर्फ ग्रामीण पर्यटकीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एक वडा एक पर्यटकीय गन्तव्य विकास गर्ने, करिमेलालाई नमुना पर्यटकीय गाउँका रुपमा विकास गर्ने, स्थानीय मेला पर्वहरुलाई पर्यटन प्रवर्द्धनसँग आबद्ध गर्नेलगायतका कार्यक्रम समेटिएका छन् । 

पूर्वाधार विकासतर्फ रणनैतिक महत्वका सडकलाई स्तरोन्नति गर्ने, पुल कल्भर्ट निर्माण गर्ने र नयाँ ट्रयाक आवश्यकता पहिचान गरेर मात्र खोल्ने, आगामी आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्र गर्ने, वन तथा सहरी विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने र  वडा भवन निर्माण थालनी गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

नमुना विद्यालय र जनप्रेमी मावि भवन निर्माण, सुकुम्वासी समस्या समाधान, नक्सापास गरी घर निर्माण, उज्यालो गाउँपालिका घोषणा, विद्युत् उत्पादनमा सबैको सहभागिता, व्यावसायिक कृषिका लागि नयाँ प्रविधियुक्त सिँचाइ जडान लगायतका कार्यक्रम उल्लेख गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । 

शिक्षातर्फ एक शिक्षण संस्था एक उत्पादन,  पालिकास्तरीय पुस्तकालय, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, बालविकासको स्थानान्तरण, सामुदायिक विद्यालयका किशोरीलाई निःशुल्क स्यानेटरी प्याड, विद्यार्थीलाई दिवा खाजा दिइने, शैक्षिक योजना र कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम  लागू गर्ने, बहुप्राविधिक शिक्षालय निर्माण गर्ने र जनप्रतिनिधि तथा सरकारी सेवामा कार्यरत कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा भर्ना गरी अध्ययन गराउने नीति कार्यान्वयन गराइने अध्यक्ष विकले बताए । 

त्यस्तै, निःशुल्क औषधिसहितको घरदैलो स्वास्थ बिमा, विपन्नको बिमा पालिकाले गर्ने र आरोग्य केन्द्र निर्माण गरिनेजस्ता कार्यक्रम समावेश गरिएको छ । युवा खेलकुदतर्फ खेलकुद क्षेत्रको विकास गर्न सुविधासम्पन्न कभर्ड हल  निर्माण गर्ने गाउँपालिकाको नीति रहेको छ ।

जातीय भेदभाव अन्त्य गर्ने, बालविवाह न्यूनीकरण गर्ने अभियान सञ्चालन गर्ने र मासिक रुपमा जीवन भत्ता दिने गाउँपालिकाले जनाएको छ । मानव अधिकारयुक्त गाउँपालिका घोषणा गर्ने, समान कामको समान ज्याला दिने, सहिदमार्ग, पदमूर्ति र संग्रहालय व्यवस्थित गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १९:३:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया