नेपाल रग्बी शृंखलाको दुवै खेलमा पराजित

नेपाल बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा मंगलबार पराजित भएको छ । रग्बी सेभेनको दुई खेलको श्रृंखला नेपाल २–० ले गुमाएको हो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २०–० स्कोरले पराजित भयो । दिउँसो १२ बजे चर्को घाममा सुरु भएको खेलमा नेपालले पहिलो र दोश्रो हाफमा १०–१० स्कोर खान पुगेको थियो ।

बंगलादेशले खेलमा कुल ४ वटा ट्राई हान्न सफल भयो । प्रत्येक ट्राई (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्याउने) बाट ५ स्कोर दिइन्छ । बंगलादेशका नदिम मेहमुदले २ ट्राइ तथा सोहेल राना र अनवर जमानले १/१ ट्राई गरेका थिए ।

दोस्रो खेल नेपाल १९–० ले पछि पर्‍यो । पहिलो खेलको तुलनामा खेलाडीहरूले स्तरीय प्रदर्शन गरेका थिए । बंगलादेशका मोहम्मद नदिमले ७, अनवर जमानले ७ तथा ओबेडुर रहमानले ५ स्कोर गरे । नेपाली टोली कृष्ण क्षेत्रीको कप्तानीमा उत्रिएको थियो ।

उनले खेलमा पराजय भोगेपनि खेलाडीहरूले राम्रो मेहनत गरेको बताए । क्षेत्रीले भने– ‘काठमाडौंको भन्दा फरक मौसम, ढाकाको गर्मीका कारण खेलमा असर पर्‍यो । त्यसैले सोचे जस्तो परिणाम आएन ।’

नेपालले बुधबार रग्बी १५ को पहिलो आधिकारिक प्रतियोगिता खेल्नेछ । पछिल्लो समय नेपालले सन् २०१८  मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गरेको थियो ।



चार खेलाडीको डेब्यु 

चार नेपाली खेलाडीले रग्बी ७ मा डेब्यु गरेका छन् । पुजन फेवाली, रामकृष्ण चौधरी, शेरबहादुर ओली र निरोज कार्कीले डेब्यु गरेका हुन् । पुजन सुरुआती ७ खेलाडीमा परे भने चौधरी कप्तान क्षेत्रीको स्थानमा तथा ओलीले पुजन फेवालीलाई स्थानान्तरण गरेका थिए ।



दोस्रो खेलमा निरोजले डेब्यु गर्ने अवसर पाए । उनी कप्तान क्षेत्रीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

नेपाली टोली : कृष्ण क्षेत्री (कप्तान) , विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, विक्रम पुरी, हुतराज प्रधान, झुकेन राई, पुजन फेवाली, रामकिशोर चौधरी, शेरबहादुर ओली, विबेश बासु, सुरज चौधरी र निरोज कार्की ।

  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ६:२५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया