यार्सागुम्बाले बदलिएको दैनिकी पुरानै अवस्थामा, रोजगारीका लागि भारत जाने बढे
‘अहिले उत्पादन पनि छैन, मूल्य पनि राम्रो पाउँदैनौँ’

पछिल्ला केही वर्षयता हिमाली जिल्ला बझाङमा बहुमूल्य जडीबुटी यार्सागुम्बाको उत्पादनमा कमी आएको छ । केही वर्षअघि सिजनमा एक्लैले एक हजारसम्मको सङ्ख्यामा यार्सा सङ्कलन गर्न सकिने अवस्था भए पनि अहिले चार/पाँच सय पनि पाउन मुस्किल छ ।

‘सात वर्ष पहिला एक्लै यार्सा टिप्न जाँदा १ हजार ५ भन्दा बढी यार्सागुम्बा सङ्कलन गरेको थिए । त्यति बेला परिवारमा अरूले पनि यार्सा राम्रै सङ्कलन गरेको थिए,’ सुर्मा गाउँपालिका–३ का स्थानीय जमन बोहराले भने, ‘पछिल्ला दुई तीन वर्षयता यार्सा उत्पादनमा निकै कम छ । यार्सा पाउनै छोडिसक्यो । मेरो परिवारका सात जना यार्सा सङ्कलनका लागी यो पटक लेकतिर गएका थियौँ । सबैले सङ्कलन गरेको यार्सा ६ सय पनि पुगेन ।’

उत्पादन मात्रै नभएर त्यसको आकारमा समेत फरक पर्न थालेको स्थानीय बताउँछन् । केही वर्ष पहिले ठूलो आकारको यार्सा पाइने भए पनि अहिले स–सानो आकारको मात्रै पाउन थालिएको सुर्मा गाउँपालिका–३ का जौमती बोहराले बताइन् ।

‘अहिले मसिनो र सानो यार्सा मात्रै पाइन्छ । त्यसलाई तौलको आधारमा बिक्री गर्दा पनि कम तौल हुने र पिसको आधारमा बेच्दा पनि कम मूल्यमा जान्छ,’ उनले भनिन् । यार्सागुम्बाको मूल्य प्रतिपिस ३ सयदेखि १२ सयसम्म पाइने बोहराले बताइन् । 

यार्सागुम्बा सुर्मा,साइपाल,छबिसपाथिभेरा, मष्टा, तल्कोट गाउँपालिका र बुंगल नगरपालिकाका स्थानीयको आम्दानीको मुख्य स्रोत हो । अहिले भने उत्पादन घट्न थाल्नु र मूल्यवृद्धि नहुँदा स्थानीयहरूले मिहिनेतअनुसारको आम्दानी गर्न सकेका छैनन् । छबिसपाथिभेरा गाउँपालिका–७ बुडखोरीका दिनेश धामीले भने, ‘तीन महिना घामपानी, भोक निन्द्रा नभनेर हिमालमा नङ्ग्रा खियाउनुपर्छ । तर, मिहिनेतअनुसारको मूल्य छैन । केही वर्षअघि राम्रै यार्सा पाइने गर्थ्यो । मूल्य कम भए पनि मिहिनेत खेर जाँदैन थियो । अहिले उत्पादन पनि छैन, मूल्य पनि राम्रो पाउँदैनौँ ।’



तीन वर्षअघि प्रतिकिलो २१ लाखमा कारोबार भएको यार्सा अहिले मुस्किलले प्रतिकिलो १३ लाखसम्ममा बिक्री हुने गरेको धामीले बताए । 

घट्दो उत्पादन



जिल्ला वन कार्यालयको तथ्याङ्कअनुसार २०७० मा बझाङमा ३ सय किलोभन्दा बढी यार्सा सङ्कलन हुने गर्दथ्यो । जिल्लाका यार्सा पाइने चार पालिका साइपाल, सुर्मा, छबिसपाथिभेरा र बुंगल क्षेत्रका हिमाली वनबाट त्यतिबेला ३ सय ७२ किलो यार्सा सङ्कलन भएको थियो । त्यसपछि २०७१ सालमा ३ सय ३८ किलोमा झरेको पाइएको छ । त्यसैगरी २०७३ सालमा यार्सागुम्बा उत्पादनमा व्यापक गिरावट आएको देखिन्छ । 

२०७३ मा २ सय ३७ किलो यार्सागुम्बा सङ्कलन भएको डिभिजन वन कार्यालय बझाङको तथ्याङ्कले देखाएको छ । बझाङमा यार्सा सङ्कलन सुरु भयदेखि हालसम्मको उत्पादनको तुलना गर्ने हो भने, सबैभन्दा कम यार्सा सङ्कलन २०७८ सालमा देखिन्छ । २०७८ सालमा १४८ किलो ३७ ग्राम सङ्कलन भएको छ । यो वर्ष अघिल्लो वर्षको भन्दा अझ कम सङ्कलन भएको वन कार्यालयको अनुमान छ । 

जीवनशैली पुरानै लयमा फर्कने चिन्ता

यार्सागुम्बा उत्पादन र मूल्यमा एकैसाथ गिरावट आएपछि यार्सा टिपेरै आफ्नो जीवनशैली बदलेका हिमाली गाउँका बासिन्दा फेरिएको जीवनशैली पुरानै अवस्थामा फर्किने हो कि भन्ने चिन्तामा छन् । विशेषगरी यार्सागुम्बा नै आम्दानीको मुख्य स्रोतको रूपमा रहेको साइपाल र सुर्मा गाउँपालिकाका स्थानीयहरूलाई समस्याको रूपमा देखिएको छ ।

यार्साको उत्पादनसँगै प्रत्येक वर्ष घटिरहेको मूल्यका कारण पनि यार्सागुम्बाले परिचित हिमाली गाउँपालिकाका बासिन्दाको जीवनशैलीमा व्यापक फेरबदल आएको छ । पछिल्लो ९ वर्षसम्म मजदुरीका लागि भारत जान छाडेका साइपाल, सुर्मा, दौलिचौर, दहवगर, दाँतोला, बुडखोरीलगायतका गाउँका अधिकांश बासिन्दा फेरि मजदुरीका लागि भारत पस्न थालेका छन् । कोही खेतीपाती र पशुपालन तिर लागेका छन्, भने कोही पुरानै सीपलाई गुजराको माध्यम बनाउन थालेका छन् ।

‘पहिला वर्षमा ४/५ लाख यार्साबाट कमाई हुन्थ्यो । १० जनाको परिवारलाई वर्षभरि पुग्थ्यो,’ बुंगल नगरपालिका–१ दहबगरका बीर्ख बोहराले भने, ‘यार्साको उत्पादन घटेसँगै मजदुरी गर्ने पुरानै पेसामा फर्किन थालेका छन् । पहिला जस्तो यार्सा अहिले पाइँदैन । पाएको यार्सागुम्बाले मिहिनेतअनुसारको मूल्य पाउँदैन । फाइदा नहुने ठाउँमा लगानी गरेर के फाइदा?’

यार्साको कमाइबाटै गाडिएका ‘अभागी पिल्लर’

यार्सा टोलका नामले परिचित चैनपुरको प्रशासन रोड र भित्र गल्लीका अधिकारिक घरहरूमा ठडिएका पील्लरहरूले अहिलेसम्म मूर्तरूप पाएका छैनन् । ५ वर्षअघि पहिलो तला राखेर दोस्रो तलाको लागि पिल्लर राखिएका र घरको जगमा गाडिएका पिल्लरले अहिलेसम्म घरको स्वरूप पाउन सकेका छैनन् ।  

विशेषगरी सुर्माटोलमा बनेका अधिकांश घरहरूमा यार्सागुम्बाको देन रहेको छ । यार्सागुम्बाको आम्दानीबाट नै यहाँ (सुर्माटोल) प्रायः सुर्मा गाउँपालिकाका स्थानीयको बाक्लो बस्ती छ । तर, यार्सागुम्बा उत्पादनमा र मूल्यमा आएको भारी गिरावटका कारण वर्षौँ पहिले ठडिएका पिल्लरहरूमा अहिलेसम्म स्थानीयहरूले वाल लगाउन नसक्ने अवस्था आएको हाल चैनपुरमा बस्दै आएको सुर्मा गाउँपालिकाका स्थानीय कलक बोहराले बताए ।

अचानक आकासिएको सदरमुकाम चैनपुरको जग्गाको मूल्यमा पनि पछिल्लो दुई वर्षयता स्थिरजस्तै छ । जथाभाबी सङ्कलन गर्नु, जंगल खन्नु, जंगलमा आगो लगाउनु जस्ता मानव सिर्जित कारणले यार्सागुम्बाको उत्पादन घटेको हुनसक्ने डिभिजन बन कार्यालयका कार्यालय प्रमुख कर्णबहादुर खातीले बताए ।

यार्सा उत्पादन हुने स्थानमा हजारौँ मानिसको आवतजावत, प्लास्टिक र सिसाजन्य फोहोर, जुत्ता चप्पल काम नलाग्ने कपडाहरू जथाभाबी फाल्ने गर्दा प्रदूषण बढ्दै गएकाले पनि यार्साको उत्पादन घटेको उनको तर्क छ । यसबाहेक हिमपात कम हुने र जलवायु परिवर्तनको असर पनि यार्सा उत्पादनमा असर परेको खातीले बताए ।  

  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १०:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया