राष्ट्रियसभाको बैठक बस्दै, विभिन्न शीर्षकमाथि छलफल हुने

संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरूमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

बैठकमा भगवती न्यौपानेले विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव र सोनाम गोल्जेन शेर्पाले विनियोजन विधेयक २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले विरोध जनाएसँगै सोही कार्यसूची आजका लागि सारिएको हो । राष्ट्रियसभा अघि दिगो विकास तथा सुशासन समितिको बैठक पनि आज बस्दैछ । 

बिहान १० बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट समितिमा मनोनयन भएका नयाँ सदस्यलाई स्वागत र ऊर्जा संकट व्यवस्थापन र दिगो विकास लक्ष्य नं ७ को बारेमा छलफल हुनेछ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक पनि आजै बस्दैछ । बैठक दिउँसो १ः३० बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा इम्बोस्ड नम्बरका सम्बन्धमा छलफल हुने बताइएको छ ।  

आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । बैठक बिहान साढे १० बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा ऊर्जाको वर्तमान अवस्था र सम्भावनाका बारेमा छलफल हुनेछ ।  

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि आजै बस्दैछ । बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बिहान १० बजे बस्नेछ । बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन कर्ता सदस्यहरूसँग छलफल हुने बताइएको छ । 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ९:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया