देखिने काम गर्न नसके पनि प्रदेशलाई स्थापित गर्न ऐतिहासिक काम गरेका छौँ – मुख्यमन्त्री पोखरेल

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारले महत्वपूर्ण र ऐतिहासिक काम गरेको बताएका छन् । 

मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै प्रदेशको सम्पूर्ण संरचना शून्यबाट सुरु भएको बताए । प्रदेश सरकार संस्थागत प्रक्रियामा अगाडि बढ्न सफल भएको उनको भनाइ थियो । प्रदेश सरकारले कानुन अभावमा पहिलो वर्ष देखिने गरी केही गर्न नसकेकाले यस वर्ष कानुनलाई प्राथमिकता दिई काम गरिरहेको मुख्यमन्त्री पोखरेलले स्पष्ट पारे । 

‘गएको अधिवेशनमा १४ कानुन पारित भएको थियो । अहिले २० विधेयक तयार गरेका छौँ । ऐतिहासिक अधिवेशनका रुपमा स्थापित गर्न सक्षम छौँ,’ उनले भने । योजनाविहीन विकासले लक्ष्यमा पुर्याउन नसक्ने भएकाले यस वर्ष प्रदेश आवधिक योजना बनाउने वर्षका रुपमा घोषणा गरी काम भइरहेको उनले जानकारी दिए । 

‘आगामी आर्थिक वर्षमा आवधिक योजनामा आधारित बजेट ल्याउँछौँ,’ उनले भने । उनले आवश्यक विधि र कानुनको अभावका कारण प्रदेश सरकारलाई बजेट कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको हुँदा सीमित साधनस्रोत परिचालन गरी चालु आवमा अगाडि सारेका २५० योजनाको काम सुरु गरिने स्पष्ट पारे । 

‘प्रदेशअन्तर्गत १ सय ८ विभागीय कार्यालय स्थापना गरिसकेका छौँ,’ उनले भने । मुख्यमन्त्री पोखरेलले प्रदेश ५ कर्मचारीका लागि आकर्षणको प्रदेश भएको बताए । ‘समायोजनका लागि फारम भर्ने कर्मचारी अधिकांशले यस प्रदेशमा आउन चाहेका छन्,’ उनले भने, ‘अहिलेसम्म सहमति र सहकार्यको संस्कृतिबाट अघि बढेका छौँ । त्यसलाई कायम गरौँ । अहिले विवाद कचिंगल गर्यौँ भने सुधार्न गाह्रो हुन्छ । भविष्यका लागि सोचौँ ।’ 





  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार १९:४५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया