दुर्गा प्रसाईंले भने - २० असारसम्म स्वास्थ्य बीमाको रकम नपाए सेवा बन्द गरिन्छ
फरकधार / ८ असार, २०७९
फाइल तस्वीर

स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले २० असारसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।



बुधबार बि एण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बीमा गरेका बिरामीले उपचार गरेको रकम २० असारसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले २० असारसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताए ।



'सरकारले स्वास्थ्य बीमा बापतको रकम असार २० गतेसम्म भुक्तानी नदिए स्वास्थ्य बीमा सेवा बन्द गरिन्छ' उनले भने ।



उनले सरकारी अस्पतालमा ८ करोड पुग्दा सेवा बन्द गर्ने निर्णय गरिसकेकाले आफूहरूले पनि बन्द गर्न सरकारले बाध्य बनाएको आरोप लगाए ।

सञ्चालक प्रसाईंले सरकारले ल्याएको बीमा नीतिमा जनतालाई सबै कुरा निःशुल्क भनेर भ्रम छरिएको बताए ।

उनले सरकारले अहिले स्वास्थ्य बीमामा छुट्याएको रकममध्ये ३ अर्ब बी एण्ड सीलाई दिए पूर्वका ३२ लाख जनतालाई घरसम्म नै एम्बुलेन्स सेवा पुर्‍याउने गरी उपचार दिने बताए ।

सञ्चालक प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने दाबी गरे । उनले सरकारको नीतिले आगामी वर्षभित्र सबै निजी लगानीका अस्पताल बन्द हुने बताए ।

प्रसाईंले गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको दाबी गरे । उनले अब नेपालमा नर्सिङ समेत पढ्नै नपाइने अवस्था आउन लागेको बताए ।

प्रसाईंले नेपालमा नर्सिङ पढाइ नहुने र भएका नर्स विदेशतर्फ जानेक्रम बढेपछि ५ वर्षपछि नेपालले भारत वा अन्य तेस्रो मुलुकबाट नर्स ल्याउनुपर्ने जिकिर गरे ।

  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १४:५२:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया