दुर्गाथलीको नीति तथा कार्यक्रम : एमबिबिएस पढ्न २० लाख छात्रवृत्तिदेखि जनयुद्धका घाइतेलाई भत्ता

बझाङको दुर्गाथली गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । पालिकामा स्वास्थ्य उपचारमा चिकित्सकको अभाव, पालिकावासीले समयमै उपचार नपाएर अकालैमै ज्यान गुमाउनुपर्ने समस्यालाई अन्त्य गर्ने उद्देश्यले गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि दुईजना जनही २० लाख रुपैयाँ एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो ।

‘पालिकामा स्वास्थ्य उपचारमा चिकित्सकको अभाव भइरहने, पालिकावासीले समयमै उपचार नपाएर ज्यान गुमाउनु परेको दुखान्तलाई दृष्टिगत गर्दै ‘आफ्नो गाउँमी आफनई डाक्टर’ नाराका साथ यसै आर्थिक वर्षबाट ‘अध्यक्ष छात्रवृत्ति कार्यक्रम’ लागू गरिने छ । अध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दुई वर्ष यस पालिकामा सेवा गर्ने सर्तमा, मेरिटका आधारमा, कार्यविधिअनुसार एमबिबिएस अध्ययनका लागि २०/२० लाखका दरले दुईजना विद्यार्थीलाई छात्रवृत्ति दिन बजेटको व्यवस्था गरिनुका साथै, गाउँपालिकाभित्रका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि कक्षा १२, एसईई र कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने एक छात्र, एक छात्रा र एक दलित विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिनेछ,’ गाउँपालिकाको नीति तथा कार्यक्रममा भनिएको छ ।  

साथै, ‘डिजिटल दुर्गाथली’ अन्तर्गत गाउँपालिकाको डिजिटल प्रोफाइल निर्माण गर्न बजेटको व्यवस्था गरिने, ‘एक घर एक करेसाबारी’ , ‘एक वडा एक पकेट क्षेत्र’ र ‘एक टोल एक उत्पादन’ गर्ने नीति अवलम्बन गरिने पनि उल्लेख गरिएको छ । साथै, ‘विषादीमूक्त दुर्गाथली’ को नीति अवलम्बन गरि अर्गानिक खेतीमा जोड दिनुका साथै गाउँपालिकास्तरीय कृषि संकलन केन्द्र तथा हाट बजारको व्यवस्था पनि गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यस्तै, ८ महिना पुगेको गर्भवती र एक महिनाको सुत्केरी आमाहरूलाई एम्बुलेन्समा लाग्ने भाडामा ५० प्रतिशत छुट र ७० वर्ष पुगेका र सोभन्दा माथिका विरामीहरुका लागि एम्बुलेन्समा लाग्ने भाडा मिनाहा गरिने पनि समावेश गरिएको छ ।

जनयुद्ध तथा जनआन्दोलनमा सहिद परिवारलाई यही आर्थिक वर्षदेखि महिनाको ३ हजारका दरले निर्वाह भत्ता दिने व्यवस्था गरिनुका साथै जनयुद्ध तथा जनआन्दोलनका घाइतेलाई महिनाको १५ सयका दरले निर्वाह भत्ता दिने व्यवस्था पनि गरिने गाउँपालिकाका दिलबहादुर थापा तुफानले बताए ।





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार ७:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया