के नेपाल फेरि हिन्दु राष्ट्र होला ?
राप्रपा अध्यक्ष कमल थापाले एक कार्यक्रममा हिन्दु राष्ट्र पुनर्स्थापना गरेरै छाड्ने अभिव्यक्ति दिए ।

काठमाडौं– पछिल्ला दिन नेपालका नेताहरु राजतन्त्र र हिन्दु राष्ट्रको विषयमा धेरै अभिव्यक्तिहरु दिइरहेका छन् । आइतबार मात्र पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले नेपालमा राजतन्त्र फेरि स्थापना हुने अभिव्यक्ति दिए ।

कतिले त हिन्दु राष्ट्र पुनस्र्थापनको आडमा राजतन्त्र फेरि फर्किन्छ कि भन्ने आशङ्का पनि व्यक्त गरेका छन् । केही दिनअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्ययक्ष कमल थापाले ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्ने प्रतिज्ञा पनि गरेका थिए ।

यसबाहेक संविधानमा लेखिएको धर्मनिरपेक्षता जनआन्दोलनको माग नभएको बताउँदै उनले नेपालमा धर्मयुद्ध हुने खतरा रहेको पनि जिकिर गरेका थिए ।

त्यस्तै, महासमिति बैठक अगाडि र महासमिति बैठक चलिरहँदा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पनि हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने अभिव्यक्ति दिएका थिए ।

पछिल्लो समय नेपालमा धर्मसँग सम्बन्धित कार्यक्रम बढेको अनुभूत गर्नेहरु पनि बढी छन् । उनीहरु एसिया प्यासिफिक समिटमा सरकार सहआयोजक हुनु, हिन्दु धर्मका दूत मानिने भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमीमा जन्ती बनेर जनकपुर आउनु लगायतलाई नेपालमा धर्मको नाममा चलखेल बढ्न थालेको अनुमान गर्नेहरु पनि छन् ।

यस्तो अनुमानका पछाडि नेपालका नेताहरुको अभिव्यक्ति नै प्रमुख कारक रहेको अधिकांश विश्लेषक बताउँछन् । झन्, भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेको केही समयपछि नै पूर्वराजाले जारी गरेको विज्ञप्तिमा पनि हिन्दु धर्म, परम्परा र संस्कृति खतरामा परेको र त्यसलाई जोगाउन आह्वान गरियो । यसले हिन्दु राष्ट्र घोषणामा थप संशय थपेको बताउनेहरु पनि छन् ।



 

याे पनि पढ्नुहाेस्:



के राजतन्त्र फर्किएला कि भन्ने आशङ्कामा छन् ओली–प्रचण्ड ?

 

अर्कोतिर, यस्ता अभिव्यक्तिलाई राजनीतिक स्टन्टको मात्र संज्ञा दिन्छन्, केही राजनीतिक विश्लेषक । तीमध्ये एक हुन्, आहुती ।

‘संसदिय व्यवस्थामा नाराले जनता प्रभावित तुल्याउने काम गरिन्छ । हिन्दु राष्ट्र पुनस्र्थापना त्यसैको सिको हो,’ आहुतीले भने, ‘यो भारतीय जनता पार्टीको प्रचार शैलीबाट लोभिएर नेपालमा गरिएको एउटा स्टन्ट मात्र हो ।’

सत्तासिन दलका नेताले जनमुखी काम गर्न नसके पछि यस्ता नारालाई भ्रम छर्न प्रयोग गर्ने र राजतन्त्रको हाउगुजी देखाउन अहिले नेकपा उद्दत भएको आहुतीको निष्कर्ष छ । उनी भन्छन्, ‘वाचाअनुसार काम गर्न नसकेकाले नेकपाका नेताले जनता भुलाउन राजतन्त्र, हिन्दुराष्ट्रलगायतको हाउगुजी देखाएका हुन् ।’

तर, एउटा क्रान्तिबाट स्थापित मान्यतालाई भत्काउन सहज नहुने विचार राख्नेहरु पनि छन् । ‘धर्म निरपेक्ष राष्ट्र कसैलाई बोझ भएको छैन, हिन्दु राष्ट्रमा फेरि फर्कनु पर्ने कुनै कारण पनि छैन,’ नेकपाका एक नेताले भने, ‘त्यसैले अहिले सरकार विकासलाई प्राथमिकतामा राख्दै अगाडि बढ्छ, यस्ता हल्लाहरुको पछाडि लाग्दैन ।’

  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार ०:८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया