नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही १ असारदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।
इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब एक हजार ६०० मात्र कायम गरिएको छ । यसअघि दुई हजार शुल्क रहेकामा टेलिकमले ४०० घटाएको हो ।
यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर दुई हजार ३०० रहेकामा एक हजार ६०० बनाइएको छ । ५१ देखि १०० एमबिपीएसको दुई हजार १०० र १०० एमबिपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल एक हजार ९०० रहेकामा दुवैको महसुल दर घटाएर एक हजार ५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस व्यान्डविथको महसुल दुई हजार ७०० रहेकामा दुई हजार ४०० बनाइएको छ । यसैगरी ११ देखि १०० एमबिपीएसको दुई हजार ४०० रहेकामा दुई हजार १००, १०० एमबिपीएसभन्दा बढीको रु दुई हजार १०० रहेकामा रु एक हजार ८०० कायम गरिएको छ ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैँ बराबर रहननाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।