लम्बियो प्रज्ञा प्रतिष्ठानकाे पुस्तक प्रदर्शनी

ललितपुर– आगन्तुकको सङ्ख्या बढिरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनी लम्ब्याएर एक महिना गर्ने भएको छ । 

राष्ट्रिय एकता दिवसको अवसरमा १५ पुसदेखि पुस मसान्तसम्म भनिए पनि अब माघ १५ सम्मै प्रदर्शनी चल्ने प्रतिष्ठानले जनाएको छ । पुस्तक किन्नेको आगमन अपेक्षा गरेभन्दा उल्लेख्य रहेको पुस्तक प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले बताए ।

अहिलेसम्म दैनिक २५ हजारको हाराहारीमा काराेबार भइरहेको छ । प्रतिष्ठान नाफामुखी संस्था नभएको तर यहाँको प्रकाशन धेरैको हातमा परोस् भन्ने प्रदर्शनीको उद्देश्य रहेको उनले बताए । उनले भने, ‘हाम्रा प्रकाशन खोजमूलक र सूचनामूलक छन्, जुन धेरै पाठकका हातमा पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।’

प्रदर्शनीमा रहेका पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको प्रतिष्ठानले जनाएको छ । दुईदेखि एक हजार ४०० सम्मका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा नयाँ र पुरानासँगै विभिन्न भाषाबाट नेपालीमा अनुवादित पुस्तक छन् । नयाँ पुस्तकभन्दा धेरैले पुराना पुस्तक रुचाएको ढुङ्गेलले बताए । इतिहासका कुरा पुराना पुस्तककै आधारमा नयाँ पुस्तकमा आउने भएकाले पाठकले पुराना पुस्तक रुचाएका हुन ।

उनले भने, ‘पुराना पुस्तक हामीले पुनःमुद्रण गरेर पनि प्रदर्शनीमा राखेका छौँ ।’ प्रतिष्ठान बर्सेनि पुस महीनामा पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)का अवसरमा पुस्तक प्रदर्शनी गर्दै आएको छ । 





  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार ११:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया