संस्कृत विश्वविद्यालयको समस्या तत्काल हल गर्न नेविसंघको आग्रह, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल संस्कृत विश्वविद्यालयको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै नेविसंघले सरकारसमक्ष यस्तो आग्रह गरेको हो । विश्वविद्यालयका पदाधिकारीले एमालेको मात्र ताबेदारी गरेको, विश्वविद्यालयकै पदाधिकारीले संस्थालाई कार्यकर्ता भर्तीकेन्द्र बनाएको भन्दै नेविसंघले तत्काल समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेको हो ।

‘विश्वविद्यालय नेतृत्वले समस्या सिर्जना गरिरहेको अवस्थामा हामी नेपाल सरकार, शिक्षा मन्त्रालय र कूलपतिको हैसितमा रहनुभएका प्रधानमन्त्रीलाई आवश्यक निर्देशन र नियमन गरी संस्थालाई सही ट्रयाकमा हिँडाउन सक्रिय हुन विज्ञप्तिमार्फत अनुरोध गर्दछौँ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

विश्वविद्यालयका प्रचलित ऐन–नियम मिचेर आवश्यकता र औचित्यको अध्ययन नै नगरी आफूनिकट दलका कार्यकर्ता भर्ती गर्न लागिएको नेविसंघको आरोप छ । ‘हामी सदैव खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताको पक्षमा छौँ। त्यो नियमसम्मत र प्रतिस्पधाको विश्वसनीयतामा आधारित हुनै पर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउन उद्यत वर्तमान पदाधिकारीबाट संस्थाको भविष्य नरहेको नेविसंघको ठहर छ । उसले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र आफ्ना माग तत्काल पूरा नभए जुनसुकै परिस्थितिको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने पनि चेतावनी दिएको छ । 





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १४:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया