जीवनरामको दाबी : पार्टीमा विवाद छैन, मन्त्री हेरफेर उनीहरूकै उपस्थितिमा सर्वसम्मत गरिएको निर्णय

नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पार्टीगत रूपमा कुनै विवाद नरहेको दाबी गरेका छन् । शुक्रबार पार्टीको पोलिटव्यूरो बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीले मन्त्री फेरबदल गर्ने निर्णय पनि सर्वसम्मत भएको बताए । उनले कार्यान्वयनका विषयमा ढिलासुस्ती भएको भन्दै छिट्टै यो विषय टुंगिने सूचना पाएको जानकारी दिए ।

'पार्टीगत रूपमा भन्नुहुन्छ भने केही पनि विवाद छैन । यो निर्णय सर्वसम्मतिमा भएको हो । कार्यान्वयन गर्ने विषयमा अलिकति ढिलासुस्ती चाहिँ भइरहेको छ । त्यो पनि छिट्टै कार्यान्वयन हुन्छ भन्ने सूचना पाएका छौँ,' उनले भने ।

उनले पार्टीमा विवाद नभएको दाबी गरे तापनि १० जना सांसदहरूले असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएका थिए । यसबारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, 'पार्टीभित्रको बैठकमा अहिलसम्मका सबै निर्णयहरू सर्वसम्मत भएका छन् । मन्त्री फिर्ता गर्ने कुरामा पनि सचिवालय र स्थायी कमिटीमा सर्वसम्मत भएको छ ।'

मन्त्री हेरफेरको विषय दुई जना मन्त्रीहरू समेतको उपस्थितिको बैठकले सर्वसम्मतिमा निर्णय गरेको उनले बताए । उनका अनुसार विरोध खतिवडा र रामकुमारी झाँक्री उपस्थित रहेको बैठकले मन्त्री फेरबदल गर्ने निर्णय सर्वसम्मत पारित भएको थियो ।

अहिले देखिएको विवाद अध्यक्ष नेपालले छलफल गरेर सल्ट्याउने उनको भनाइ छ । ‘त्यस विषयमा बैठकमा छलफल भएन । अध्यक्ष कमरेडले सल्लाह गर्नुहुन्छ,’ उनले भने ।



उनले प्रधानमन्त्री शेरबहादुर देउवाले गरिरहेको ढिलाईका विषयमा अध्यक्ष नेपालले गठबन्धनको नेतृत्वको ध्यानाकर्षण गराएको पनि बताए । दलीय रूपमा निर्णय गर्न सबै दल स्वतन्त्र रहेको र गठबन्धनको नेतृत्वले दलको निर्णय कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

‘गठबन्धनमा भए पनि पार्टीहरू स्वतन्त्र छन् । आ-आफ्नो पार्टीको आ-आफूले निर्णय गर्ने हो । त्यसलाई गठबन्धनको नेतृत्वले कार्यान्वयन गर्नुपर्छ,' उनले भने, 'कार्यान्वयनको कुरामा नाइनास्ती भएको छैन तर ढिलासुस्ती भएको छ । यस विषयमा पार्टीले गठबन्धनको नेतृत्वको ध्यानाकर्षण गराइसकेको छ । निर्णय छिट्टै कार्यान्वयन हुन्छ भन्ने हामीले थाहा पाएका छौं ।’



  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १५:४६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया