नेकपा एस मन्त्री हेरफेर विवाद : विरोध खतिवडाको नेतृत्वमा छुट्टै पार्टी खोल्न छलफल
फाइल तस्वीर

नेकपा एमालेबाट विद्रोह गरेर पार्टी गठन भएको १० महिना नपुग्दै नेकपा एकीकृत समाजवादीमा मतभेद चर्किएको छ । मन्त्री फेरबदलको विषयलाई लिएर सुरु भएको विवाद विद्रोहको स्थितिमा पुगेको हो ।

बजेटमाथिको छलफलकै बीचमा पार्टीले मन्त्रीहरूलाई फिर्ता डाक्ने निर्णय गरेपछि सुरु भएको विवाद आठबुँदे ध्यानाकर्षण हुँदै छुट्टै पार्टी गठनको छलफलसम्म पुगेको छ ।   पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै असन्तुष्ट नेताहरू छुट्टै पार्टी गठनबारे छलफल  थालेको स्रोतको भनाइ छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता विरोध खतिवडाको नेतृत्वमा छुट्टै पार्टी खोल्नेबारे छलफल  भइरहेको स्रोतको भनाइ छ ।

एकीकृत समाजवादीको गत २१ जेठमा बसेको सचिवालय बैठकले पार्टीबाट सरकारमा गएका मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको थियो । त्यसपछि मन्त्रीहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई निर्णय फिर्ता गर्न औपचारिक/अनौपचारिक दबाब दिँदा पनि निर्णयबाट पछि नहट्ने संकेत देखाएनन् ।

यता, अध्यक्ष नेपालले शुक्रबार बसेको पार्टीको पोलिटब्युरोको बैठक पनि बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउने पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका थिए । शनिबारसम्ममा मन्त्रीहरू हेरफेर भइसक्ने जानकारी गराउँदै उनले, 'निर्णय तपाईंहरू कार्यान्वयन गर्न आफैँ लाग्नुहोस्' भने थिए ।

पार्टी अध्यक्षको अडानबाट चिडिएका उनीहरूले थप सांसदको साथ लिएर नयाँ पार्टी खोल्न सकिनेबारे आन्तरिक छलफल थालेका हुन् । विद्रोह गरेका १० सांसदलाई थप ८ जना सांसदले पनि साथ दिने प्रतिवद्धता जनाएको स्रोतले बतायो ।



एकीकृत समाजवादीमा अहिले २३ सांसद रहेका छन् । कानुनतः २३ मध्ये १८ सांसदले साथ दिँदा भिन्दै पार्टी खोल्न सकिने भएकाले नेता खतिवडाको नेतृत्वमा नयाँ पार्टी गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।   

१० सांसदले बुझाएको ध्यानाकर्षणपत्रमा बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन् ।



उनीहरूले अध्यक्ष नेपालले बारम्बार प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीहरूको शपथ गराउन दबाब दिएको र आफूहरूलाई यो स्वीकार्य नहुने पनि उल्लेख गरेका छन् ।

प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको सूची असमावेशी भएको भन्दै त्यसमा उनीहरूले आपत्ति जनाएका पनि छन् । नयाँ मन्त्रीहरू सिफारिस गर्दा पार्टीले पुरानो टिम पूरै फिर्ता गर्नुपर्ने र तत्काल संसदीय दलको बैठक बोलाउन पनि माग गरेका छन् ।

आठबुँदे ध्यानाकर्षणपत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, अन्य सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कयस्थ, धनबहादुर बुढा, निरा जैरुले उनीहरूलाई साथ दिएका छन् ।

  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार २०:४६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया