मन्त्रीकाे हस्तक्षेपछि टुंगियो मणिपालको मजदुर विवाद
श्रमिकको तलब ३ हजार ६ सय ५० रुपैयाँ बढाउन अस्पताल प्रशासन सहमत

काठमाडौं– लामो समयदेखि जारी पोखराको मणिपाल शिक्षण अस्पतालको विवाद टुंगिएको छ ।

तलबभत्ता वृद्धि लगायतका माग राखी मणिपालका मजदुर २०७४ साउनदेखि आन्दोनमा थिए । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्देशनपछि विवाद टुंगो लागेको मन्त्रालयले जनाएको छ । 

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपालका अध्यक्ष अमृतबाबु पौडेलले समस्या समाधानमा मन्त्री विष्टले नै हस्तक्षेप गर्नुपरेको बताए । ‘लामो समयदेखिको यो विवाद टुंगो लगाउन श्रम मन्त्रालयले नै हस्तक्षेप गर्नुपर्यो,’ पौडेलले भने, ‘बल्ल अस्पताल प्रशासन सहमतिमा आएको छ ।’ 

विवाद समाधानका लागि सरकारले महान्यायाधिवक्ताको कार्यालयका अधिकृत श्रीराम खनालको नेतृत्वमा टे«ड युनियनका तर्फबाट नवीन अधिकारी र पोखरा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष विश्वशंकर पालिखेसहितको अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले अस्पताललाई सहमतिमा आउने आग्रहसहित गत कात्तिक ११ मा सरकारलाई प्रतिवेदन बुझाएको थियो । 

‘सहमतिमा नआउने हो भने अदालत जान्छौँ भन्ने मन्त्रालयको कडाइपछि बल्ल अस्पताल प्रशासन सम्झौता मान्न तयार भएको हो,’ पौडेलले भने, ‘अस्पताल प्रशासनले सरकारको समेत निर्देशन पालना नगर्दा ढिलाइ भएको हो ।’ 

पुस महिनाभित्र सहमति कार्यान्वयनमा ल्याउन र कात्तिकदेखि नै मजदुरलाई श्रम ऐनअनुसार बढेको सेवासुविधा दिन अस्पताल प्रशासन तयार भएको पौडेलले बताए ।



अस्पतालमा कार्यरत प्राध्यापक चिकित्सकको बाहेक अन्य मजदुरको सेवासुविधा मासिक ३ हजार ६ सय ५० रुपैयाँ वृद्धि गर्ने सहमति भएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र पौडेलले कठिनाइका साथ मणिपाल प्रशासन मजदुरका माग सुन्न सहमत भएको बताए ।

स्थानीय प्रशासनले दिएको निर्देशनसमेत अस्पताल प्रशासनले नमानेपछि श्रममन्त्री विष्ट आफैँले तीन दिनभित्र समस्या समाधान गर्न निर्देशन दिएका थिए । 



‘मणिपाल अस्पताल प्रशासनले सम्झौता पालना नगर्दा ढिलाइ भएको हो । बल्ल सहमति भएको छ,’ उनले भने । मणिपाल अस्पतालमा प्राध्यापक चिकित्सकबाहेक झन्डै ८ सय कर्मचारी छन् । यो सहमतिले ती सबै कामदारको श्रम ऐनअनुसार सेवासुविधा वृद्धि गरेको उनले बताए ।
 

  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १८:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया