सामाजिक सन्जालका जोक्स पढेर म र श्रीमती मरिमरि हास्छौँः राजेश हमाल
‘कहिलेकांही त आफूमाथि आफैं जोक्स बनाउँ भन्ने लाग्छ’

काठमाडौं– केही दिनयता सामाजिक सन्जालमा नेपाली प्रयोगकर्ताले अभिनेता राजेश हमाललाई जोडेर अनेकौं जोक्स बनाइरहेका छन् ।

के अभिनेता राजेश हमाल यी जोक्सहरु पढिरहेका छन् त ? कि उनी ट्विटरमा उनीमाथि नै बनेका जोक्सहरुबारे बेखबर छन् ?

हामीले यही जिज्ञासा राजेश हमालसँग राख्यौँ । 

सोमबार दिउँसो राजेश सायद त्यति व्यस्त थिएनन्, घरमै थिए ।

हामीले पहिलो प्रश्न उनलाई राख्यौँ, ‘के तपाईं अहिले सामाजिक सन्जालमा तपाईंमाथि बनेका जोक्स पढिरहनु भएको छ ?’

प्रश्न खस्न नपाउने वित्तिकै हमालले फ्याट्टै जवाफ दिए, ‘अँ, पढिराछु ।’ अनि मज्जाले हासे उनी ।



सामाजिक सन्जालमा राजेश हमालमाथि बनेका जोक्स साँच्चिकै जोक्सजसरी नै अलौकिक ढंगले उनको क्षमता वर्णन गरिएका छन् । यस्ता जोक्स पढ्दा राजेशलाई कस्तो लाग्दो हो ? 

हामीले उनलाई एउटा ट्विटको उदाहरण नै दियौँ– ‘राजेश हमाल चेस खेल्दा चाहिने राजाको गोटी ल्याउन राजदरबार जान्थे रे ।’



फेरि एक पटक मज्जाले हाँसेर कुराकानी सुरु गरे हमालले । 

‘म जोकलाई जोककै रुपमा लिन्छु,’ शालिन आवाजमा बोल्डनेस सुनिन्थ्यो, ‘ती जोक्स पढ्दा कहिलेकांही त म पनि मरिमरि हाँस्छु ।’ यस्ता जोक्सले आफूलाई हसाउनुको कारण त्यहाँ आफ्नो नाम प्रयोग भएकाले मात्र नभएर त्यसमा भेटिने सिर्जनशीलता भएको ठहर गरेका छन् राजेशले ।

‘ममाथि बनेका जोक्स अश्लिल छैनन्, स्वस्थकर नै छन्,’ उनले भने, ‘अश्लिल नभएकाले पनि म ती जोक्सहरु पढेर हाँस्छु, तीनमा सिर्जनशील क्षमता प्रष्ट देख्छु ।’

सेन्स अव ह्युमरलाई आफूले पनि निकै मन पराउने भएकाले राजेशलाई यस्ता जोक्सहरुले समस्यामा पारेका छैनन् । ‘अब म आफैं पनि जोक र ह्युमर मन पराउने मान्छे हो,’ राजेशले भने, ‘हेर्नुस्, जोक बनाउनु भनेको त एउटा कला हो नि । त्यसमा सेन्स अफ ह्युमर हुनुपर्छ, नत्र जे पायो त्यही जोक हुनै सक्दैन ।’

राजेश सधैं आफैं सामाजिक सन्जालमा पुगेर आफ्ना जोक्स पढ्ने भने होइनन् । ‘बजारमा नयाँ आएपछि साथीभाइले पठाइहाल्छन्,’ राजेशले ठट्यौली पारामा नै भने, ‘पछिल्ला २४ घन्टामा मैले सबैभन्दा धेरै जोक्स पाइरहेको छु ।’

राजेश दाइमाथि बनेका जोक्सले आफूलाई कुनै नरमाइलो बताउँदै राजेशले भने, ‘बरु पछिल्लो समय त हामी बुढाबुढी मिलेर जोक्स पढेर हाँसिरहेका हुन्छौँ ।’

राजेश हमालले नभेटिसकेका कुनै नयाँ जोक्स भेटियो भने उनकी श्रीमतीले उनलाई सुनाउने गरेको पनि हमालले बताए । उनले भने, ‘उनी पनि हाँस्दै त्यस्ता जोक्स मलाई फर्वाड गरिरहेकी हुन्छिन्, हामी एकअर्कासँग यस्ता जोक्स सेयर गर्छौँ र बेस्मारी हास्छौँ ।’

के सामाजिक सन्जालमा पढेका जोक्सहरु राजेश हमालले सम्झिएका होलान् त ? हामीले उनलाई यो प्रश्न राख्यौँ । 

एकैछिन पनि नरोकिइ उनले भने, ‘ममाथि बनेका जोक्स खुब मन परिरहेका छन् । केही जोकहरु छन्, जुन म सम्झन्छु पनि ।’

राजेशले त्यसपछि आफूले सम्झिएको एउटा जोक्स सुनाए । उनले भने, ‘राजेश दाइ चेस खेल्न चाहिने हात्ती लिन चितवन जान्थे रे !’ अनि मज्जाले हाँसे राजेश हमाल । 

त्यसपछि उनले अर्को जोक्स सुनाए– 

महादेव एक चोटी आफ्नो त्रिसुल हरायो भनेर तनावमा थिए रे । उनले सबैतरि खोजे तर कतै पनि भेटेनछन् । खोज्दा खोज्दै राजेश हमालको घरतिरबाट जादाँ आफ्नो त्रिशुलले चाउमिन खाइराको देखेर छक्क परे । 

यस्ता एक दर्जनभन्दा बढी जोक्स राजेशलाई याद छन् ।

जे होस्, सामाजिक सन्जालमा भाइरल भइरहेका जोक्स पढेर राजेश हमाल पनि खुसी छन् । ‘समाजमा नराम्रो सन्देश जाने वा अश्लील जोक्सहरु बनेका छैनन्, त्यस्ता नबनून् भन्ने लाग्छ,’ उनले भने, ‘कसैलाई हानी नपुग्ने जोक्समा त सिर्जनात्मक क्षमता पो देखिन्छ त ।’

बरु राजेश आफैं आफ्नो नाममा केही जोक्स बनाउने पक्षमा छन् । ‘बनाउँ बनाउँ लागिरहेको छ,’ राजेशले आफ्नो इच्छा प्रष्टैसँग राखे ।


  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १९:११:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया