हलेसी तुवाचुङ नगरपालिकाले ल्यायो गहत र बदाम खेती प्रवर्द्वन कार्यक्रम

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गहत र बदाम खेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार आयोजना गरिएको ११ औं नगरसभामा मेयर बिमला राईले गहत, बदामलगायतका कृषि उत्पादनको प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 

खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा गहत र बदाम खेती हुँदै आएको छ । स्वतस्फूर्त रूपमा खेती हुँदै आएको गहत र बदामलाई कोसेलीका रूपमा बिक्रीवितरणको व्यवस्था मिलाउने गरी प्रवद्र्धन गर्ने योजना बनाइएको मेयर राईले बताइन् । 

११ वडा रहेको नगरपालिकामा गहत र बदामको व्यावसायिक खेतीको प्रचुर सम्भावना छ । नगरमा उत्पादित गहत र बदाम जिल्लाबाहेक छिमेकी जिल्लाका बजारमा समेत पुग्ने गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार लगायतका ठाउँका किसानले गहत खेती गर्दै आएका छन् । 

हाल गाउँघरमा गहत दालको रूपमा उपयोग हुने गरेको छ । नगरपालिकाले ढाका, खाँडी जस्ता स्थानीय उत्पादनको समेत प्रवद्र्धन गर्ने, भूमि बैंकको अवधारणालाई अबलम्बन गरी खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, वाली तथा पशु विमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फुडलगायतका नगदेबाली खेती गर्ने कृषकलाई नगद प्रोत्साहन स्वरूप प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

प्रत्येक टोल बस्तीमा स्वच्छ खानेपानीको प्रबन्ध गर्ने, नगरपालिका भित्रका जेष्ठ नागरिक, अपाङ्ग, विपन्न एकल महिला तथा एकल पुरुषलाई निःशुल्क स्वास्थ्य विमा गर्ने, सुविधा सम्पन्न नगर अस्तपाल निर्माण गरि स्वास्थ्य विमा कार्यक्रम लागू गर्ने, सबै आमा समूहलाई विउ पूँजी घुम्तिकोष कार्यक्रम उपलब्ध गराउने, जन्मेका सबै बालिकालाई बालिका बचत कार्यक्रममा समेट्ने भनिएको छ । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ६:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया