नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन् ।
आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरुले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका हुन् ।
मन्त्रीहरुले राजीनामा पत्र बुझाउँदै पार्टीले आवश्यकताअनुसार सो पत्र बाहिर ल्याओस् भनेको उनले जानकारी दिए । उनले सो राजीनामा पत्र गोजीमा लिएर हिँडिरहेको भन्दै कुनै पनि बेलामा सो पत्र सार्वजनिक गर्ने उल्लेख गरे ।
अध्यक्ष नेपालले अन्य मन्त्रीहरुले पनि आफूलाई राजीनामा पत्र पठाउनेमा विश्वास व्यक्त गरे । उनले मन्त्रिपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै सो आधारमा सरकारले तुरुन्त मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने बताए ।
'केही मन्त्रीहरुले राजीनामा पत्र मलाई दिनुभएको छ । पार्टीले जुन बेला बाहिर ल्याउने हो त्यो राजीनामा पत्र ल्याइदेओस् भन्नुभएको छ । त्यो म गोजीमा लिएर हिँडिरहेको छु । कुनै बेला त्यो राजीनामा पत्र बाहिर प्रेसमा पठाएर त्यसलाई म सार्वजनिक पनि गर्नेछु । अरु मन्त्रीहरुले पनि त्यस्तै ढंगले राजीनामा पत्र पठाउनुहुनेछ' उनले भने, 'मन्त्रिपरिषद् पुनर्गठन गर्नका लागि हामीले पठाएको पत्र नै पर्याप्त छ । त्यस आधारमा यो सरकारले तुरुन्त त्यो निर्णय लागू गर्ने कुरामा लागोस् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।