नेपाल प्रहरीले लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु घटना शंकास्पद भएको बताएको छ ।
गायिका सुनार काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा शनिबार मृत भेटिएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी उनी शनिबार बिहान मृत भेटिएकी थिइन् ।
प्रारम्भिक अनुसन्धानमा सुनारको मृत्यु घटना शंकास्पद देखिएको प्रहरीले जनाएको हो । सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ लेखिएकी गायिका सुनारको मोबाइल नभेटिनुले घटना शंकास्पद देखिएको प्रहरी अधिकारीको भनाइ छ ।
प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।
'शंकास्पद मृत्यु देखिएको छ । सोधपुछका लागि केही मानिसलाई नियन्त्रणमा लिएर सूचना संकलन गर्दैछौँ,' उनले भने ।
प्रहरीले सुनारका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको हो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
शुक्रबार राति १ बजे २० मिनेटमा सुनारको फेसबुकमा स्टाटस पोस्ट भएको थियो । शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृत भेटिएकी थिइन् ।
यता, सुनारको मृत्यु प्रकरणबारे निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारले माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा आवद्ध कलाकारहरूले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै बालाजु प्रहरी वृत्तमा दबाब दिएका हुन् ।
सुनार प्रतिष्ठानकी सदस्य पनि हुन् । उनी राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।