मन्त्री आलेले राजीनामा दिएपछि आन्तरिक छलफलमा विरोध, रामकुमारी र किसान
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीका तर्फबाट पर्यटनमन्त्री बनेका प्रेम आलेले पदबाट राजीनामा दिएपछि सोही पार्टीबाट मन्त्री बनेका अन्य तीन जना आन्तरिक छलफलमा जुटेका छन् ।

मन्त्री आलेले पोलिटब्युरो बैठकमा गरेको प्रतिवद्धताअनुसार आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् । उनले शुक्रबारको पोलिटब्युरो बैठकमा २४ घण्टामा राजीनामा दिने पार्टी अध्यक्ष नेपाललाई प्रतिवद्धता जनाएका थिए ।

आलेको राजीनामापछि दबाबमा परेका स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री किसान श्रेष्ठ आन्तरिक छलफलमा जुटेका हुन् । तीनै जनाले आन्तरिक छलफल गरेर राजीनामाबारे निष्कर्ष निकाल्ने स्रोतको भनाइ छ ।

यसअघि नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेपछि आलेसहित सरकारमा सहभागी ४ मन्त्री र ६ सांसदले संसदीय दलको बैठक बोलाउनु पर्ने माग राख्दै नेपाललाई ज्ञापनपत्र बुझाएका थिए । शनिबार भने आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए भने ४ जनाले हस्ताक्षर फिर्ता गरेका छैनन् ।  

सरकारमा रहेका नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरूलाई नहटाउन अनुरोध गर्दै आएका छन् । तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मन्त्रीहरुले पार्टीबाट भएको निर्णय मान्नु पर्ने बताउँदै आएका छन् । 

तीन सात अघि पार्टीले हालका स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्दै जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउने निर्णय गरेको थियो । पार्टीको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगर्दा नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्न पाएका छैनन् ।





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १५:३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया