रामकुमारी झाँक्रीले पनि सरकार छाड्दै, पत्रकार सम्मेलनमार्फत जानकारी दिने
फाइल तस्वीर

शहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्रीले पनि राजीनामा दिने भएकी छन् । झाँक्रीले केही बेरमा पत्रकार सम्मेलनमार्फत सरकार छाडेको बारे जानकारी गराउने बताइएको छ ।

उनले आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै छिन् । उनले विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिएलगत्तै सरकार छाड्न लागेकी हुन् ।

त्यस्तै, पर्यटनमन्त्री प्रेम आलेले पनि पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले पोलिटब्युरो बैठकमा गरेको प्रतिवद्धताअनुसार आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् । उनले शुक्रबारको पोलिटब्युरो बैठकमा २४ घण्टामा राजीनामा दिने पार्टी अध्यक्ष नेपाललाई प्रतिवद्धता जनाएका थिए ।

तीन साताअघि नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो । पार्टीले मन्त्रीहरू आले, झाँक्री,विरोध खतिवाडा र किसान श्रेष्ठलाई फिर्ता डाकेको थियो ।

पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै सरकारमा सहभागी ४ मन्त्री र ६ सांसदले संसदीय दलको बैठक बोलाउनु पर्ने माग राख्दै नेपाललाई ज्ञापनपत्र बुझाएका थिए । शनिबार भने आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए भने ४ जनाले हस्ताक्षर फिर्ता गरेका थिएनन् ।

पार्टीले हालका स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्दै जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १७:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया