ती विद्रोही रामकुमारी, यी भावुक रामकुमारी (भिडियो)

नौ महिनाअघि नेकपा एमालेबाट विद्रोह गरेर स्थापना भएको नेकपा एकीकृत समाजवादी पार्टीले सोमबार आफ्ना मन्त्रीहरु परिवर्तन गरेको छ । 

०७८ असोज २२ गते मन्त्रीमा नियुक्त भएका रामकुमारी झाँक्री, प्रेमकुमार आले किसान श्रेष्ठ र विरोध खतिवडा ८ महिना २० दिनपछि सरकारबाट बाहिरिएका छन् । 

एकीकृत समाजवादीका मन्त्रीहरु सरकारमा जाँदा जुन उत्साहले गएका थिए । आइतबार सरकार छाड्दा त्यत्तिकै निरास देखिए । यद्यपि, उनीहरुले आफ्नो कार्यकालमा उत्साहजनक काम गरेको दाबी गरेका छन् । 

एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपालाई नामका कारण सर्वोच्च अदालतले ‘अवैध’ घोषणा गरेपछि दुवै पार्टी पुरानै अवस्थामा फर्किए । पार्टी पुरानै अवस्थामा फर्किए पनि एमालेभित्रका दुई समूहको मन पुरानै अवस्थामा फर्किन सकेन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटकसम्म संसद विघटन गरेपछि माधवकुमार नेपाल र झलनाथ खनाल समूह अध्यक्ष केपी शर्मा ओलीको सो कदमविरुद्ध सडकमै उत्रियो । 

ओलीका गलत क्रियाकलापविरुद्ध लागेका नेपाल–खनाल समूहका नेताहरुले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि सर्वोच्च पुगेर हस्ताक्षर नै बुझायो । अन्ततः नेपाल–खनाल समूहले एमालेमा विद्रोह गरेर नयाँ पार्टी नै गर्यो । यद्यपि, देउवाको पक्षमा हस्ताक्षर गर्ने सबै सांसदले नेपाल समूहलाई साथ दिएन । भीम रावल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायत १० जना प्रभावशाली नेताहरु एमा​लेमै थामिए । 

बरु देउवाको पक्षमा नखुलेका प्रेम आले, किसान श्रेष्ठलगायतले भने नयाँ पार्टी गठनमा नेपाललाई साथ दिए । सुरुदेखि नै केपी ओलीको कटुआलोचक बन्दै आएकी रामकुमारी झाँक्रीले भने नेपाल खनाललाई अन्त्यसम्म साथ दिइरहिन् । त्यसैको फलस्वरुप हुनुपर्छ, झाँक्रीले देउवा सरकारमा सहरी विकासमन्त्रीको भूमिका पाइन् । तर, पूरा कार्यकाल मन्त्री बन्न नपाएकोमा झाँक्री भावुक बनिन् । 



मन्त्रीका रुपमा झण्डै साढे आठ महिना सँगै काम गरेका कर्मचारीको बीचबाट बिदाइ हुँदै गर्दा उनले पटकपटक आँसु नै झारिन् । कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दै गर्दा उनले राम्रोसँग आफ्ना कुरा राख्न पनि सकिनन् र कुनै दिन लिखित रुपमै आफ्ना भनाइ राख्ने भन्दै उनी बिदा भइन् । 

कुनै बेला आफ्नै पार्टीका अध्यक्षका गलत क्रियाकलापविरुद्ध डटेर सामना गर्ने ‘स्ट्रङ लेडी’को छवि बनाएकी झाँक्री मन्त्रीबाट राजीनामा दिएर कर्मचारीसँग बिदाइ हुँदै गर्दा भने भावुक बनेकी थिइन् । उनको भावुकतालाई कतिपयले मन्त्रीबाट निस्कनुपर्दाको पीडाका रुपमा लिए भने कतिपयले आफ्ना योजना पूरा गर्न नपाउँदाको भावुकताका रुपमा चित्रण गरेका छन् ।      



 

  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार २२:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया