‘राजनीतिक गुरु’सँग बालेनको भेट, भने– पुरानो हुनेबित्तिकै सबै नराम्रो हुँदैन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारसँग भेटवार्ता गरेका छन् । उनीहरूसँगको भेटबारे बालेनले सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

व्यञ्जनकारलाई बालेन आफ्नो ‘राजनीतिक गुरु’ पनि मान्छन् । काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा गरेलगत्तै उनले व्यञ्जनकारबाट पटकपटक सुझावसल्लाह लिएका थिए ।

बालेन फराकिलो मतान्तरले विजयी हुँदा यसपालि व्यञ्जनकार भने आफ्नै भतिजसँग पराजित हुन पुगे । १० पटक स्वतन्त्रबाट लगातार वडाध्यक्ष जितेका उनी गत ३० वैशाखमा सम्पन्‍न निर्वाचनमा भतिजसँग ४७ मतले पराजित भएका हुन् । 

यसअघि व्यञ्जनकार ललितपुर–१० को वडाध्यक्षमा लगातार १० पटक वडाध्यक्षमा विजयी भएका थिए । पराजित भए पनि बालेनले उनीसँग बेलाबेला भेटघाट गरिरहन्छन् । प्रष्ट मार्गदर्शन गरेको भन्दै उनले व्यञ्जनकारलाई आभार पनि व्यक्त गरेका छन् । 

‘सानैमा पढियो, गुरुको अर्थ अँध्यारोबाट उज्यालोतर्फबाट लैजाने हो । व्यक्तिगत जीवनमा त्यसको अनुभव गरियो पनि । अहिले एउटा विशाल अभियानमा रहँदै गर्दा गुरुको अर्थ र भूमिकाको झन् धेरै अनुभव गर्न पाएको छु । यति आत्मिय र प्रष्ट मार्गदर्शनका लागि मेरा गुरु नरसिंह व्यञ्जनकारप्रति आभारी छु,’ बालेनले भनेका छन् ।  

उनले नयाँ र पुरानो नेतृत्वबीच हातेमालो र सहकार्य भए मात्र समय सुहाउँदो नयाँ संस्करण भेटाउन सकिने पनि उल्लेख गरेका छन् । 



‘नयाँ हुनेबित्तिकै सबै राम्रो वा पुरानो हुनेबित्तिकै सबै नराम्रो भन्ने हुँदैन । नयाँ र पुरानोहरूले हातेमालो र सहकार्य नगरेसम्म हाम्रो मौलिकताले समय सुहाउँदो नयाँ संस्करण भेट्टाउँदैन । यसैले पुरानाले हिँडेको बाटोका राम्रा र नराम्रा पक्षहरू सुन्नु छ । आफू हिँड्दै गरेको बाटोको बारेमा सोध्नु छ । धेरै कुरा सिक्नु छ । र, केही कुरा बदल्नु छ,’ बालेनले भनेका छन् ।  



  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ७:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया