प्रदर्शनमा सुधार गर्न पर्याप्त प्रतियोगिता आवश्यक : रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सीमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसी महिला टी–२० च्याम्पियनसिपमा अभागी टोली बन्यो । एसिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र थियो । तर, वर्षा बाधक बन्यो । 

अस्मिना कर्माचार्यको ५ विकेटको तारिफयोग्य बलिङ शुभ संकेत भएपनि वर्षा बाधक बन्दा एसिया कप यात्रा टुङ्गियो । सोमवार स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अझै राम्रो गर्न सकिने भन्दै खेलाडीलाई पर्याप्त अभ्यास खेलको खाँचो रहेको बताइन् ।  
 
‘सबै खेलाडीले खेल मैदानमा आ–आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकै हो । योजनाअनुसार समग्र टोलीले प्रदर्शन गरेको पनि हो । हङकङसँगको हारपछि समीकरण बदलिए पनि यूएईमाथि प्रदर्शन हाम्रो लागि राम्रो हो । बलियो यूएईलाई सस्तैमा समेटेर खेल्नका लागि तयार भएपनि नखेली आउनुपर्दा दुःख लागेको छ,’ रुबिनाले भनिन् । 

टोलीमा अहिले केही अनुभवी, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान खेलाडीसहितको मिश्रित टोली भएको भन्दै उनले निरन्तरको अभ्यास र धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन् ।  

‘हामी अहिलेको लयलाई निरन्तरता दिन चाहन्छौं । यो सल्लाह पनि भएको छ । भरसक सबै खेलाडी काठमाडौंमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएका छौं । आउँदै गरेको प्रतियोगितालाई मध्यनजर गर्दै योजनावद्ध तरिकाले अगाडि बढ्ने सोच बनाएका छौं । यसका अलावा हामीलाई धेरै भन्दा धेरै प्रतियोगिताको खाँचो छ । युगाण्डासँगको श्रृंखलाको अनुभवले हाम्रा धेरै कमीकमजोरी सुधार गर्नसक्यौँ भने आउँदो दिन नेपाली महिला क्रिकेटका लागि राम्रो हुनेछ,’ रुबिनाले भनिन् ।  

मुख्य प्रशिक्षक जगत टमाटाले मुखमै आएको खेल गुमाउनु परेको भन्दै त्यसको जिम्मा आपूmले लिने बताए । एसिसी र आइसिसीले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डेको आवश्यक पर्ने भएपनि नराखेकोमा गुनासो गरे । समग्रमा सबै पक्षमा राम्रो प्रदर्शन गर्दागर्दै पनि अपेक्षाअनुसार नतिजा आउन नसक्नु दुर्भाग्य भएको टमाटाले बताए ।

‘उपाधि लक्ष्यका साथ हामी मलेसिया गएका थियौं । दुर्भाग्य सेमिफाइनल खेल वर्षाका कारण रद्द भयो । मुखमै आएको खेल छुट्यो । धेरै दुःख लागेको छ । लक्ष्यमा पुग्न हामी चुक्यौं । प्रशिक्षकको नाताले म यसको जिम्मा लिन्छु । व्यक्तिगत हिसाबमा मलाई पनि निकै नरमाइलो अनुभव भइरहेको छ । तर, समग्रमा नेपाली महिला टोली राम्रो खेल्यो । ब्याटिङ, बलिङमा टोलीको प्रदर्शन राम्रो रह्यो । विशेष गरी युएईसँगको खेलमा अस्मिनाको बलिङ निकै उत्कृष्ट रह्यो,’ उनले भने । 



मुख्य प्रशिक्षक टमाटाले पनि कप्तान रुबिनाले भने जस्तै पर्याप्त प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली दुई वर्षमा छलाङ मार्ने बताए ।  



  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ११:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया