नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अस्ट्रेलियासमक्ष आग्रह गरेको छ ।
नेपालका लागि अस्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् ।
नेपाल र अस्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए ।
अस्ट्रेलियाले नेपालको वन क्षेत्र संरक्षण तथा सम्वर्द्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्लले यसको निरन्तरतामा जोड दिए । उनले जडिबुटी एवं खानी जन्य तथा धातुहरूको प्रशोधन गर्ने उद्योगमा लगानी गरि अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्नसमेत राजदूत वोल्क समक्ष आग्रह गरे ।
अस्ट्रेलिया ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि अध्यक्ष मल्लले आग्रहसमेत गरे । वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्कसमक्ष आग्रह गरे ।
नेपालका विद्यार्थी अस्ट्रेलियामा अध्ययनका लागि गइरहेको सन्दर्भमा अध्यक्ष मल्लले त्यहाँका विख्यात शैक्षिक संस्थाबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गरे ।
अध्यक्ष मल्लले नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सेवा बिस्तार गरेर दुवै देशले फाइदा लिन सक्नेमा जोड दिए । सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि अस्ट्रेलियाको निजी क्षेत्रमा पहल गरिदिन समेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गरे ।
जवाफमा राजदूत वल्कले नेपाल अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो र ऐतिहासिक भएको बताइन् । नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अस्ट्रेलियाले सधैँ गर्व गर्ने उनको भनाइ थियो ।
नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरूको शैक्षिक सुधार तथा भविष्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् ।
नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अस्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।