टनकपुर सन्धिको २६ वर्षपछि पानी पाउँदै नेपाल

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूल नहर निर्माणकार्य थालनी भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भए पनि लामो समय नहर निर्माण ढिलाइका कारण गति लिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो । 

महाकाली सिँचाई आयोजना तेस्रो चरणका अनुसार भारत तर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिनअगाडिबाट परीक्षण गर्नको लागि पानी छाड्न थालिएको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधबार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ । लामो समय भारतले आफ्नो भूमिमा बनाउनुपर्ने मूल नहर निर्माणमा चासो देखाएको थिएन । तर, केही वर्षअगाडिबाट नहर निर्माणमा भारतीय पक्षले तदारुकता देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो । 

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तर रुपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताए । टनकपुर नहरबाट २६ वर्षपछि आएको पानीले भोलि असार १५ अर्थात् धान दिवसको दिन नहरको पानीबाट किसानहरुले धान रोप्ने कार्यक्रमसमेत रहेको उनले बताए । निर्देशक बमले २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैमा खुसी छाएकोसमेत बताए । नहर निर्माण पूर्ण रुपमा पूरा नभएकोले निर्माण कार्य सम्पन्न भएको क्षेत्रलाई आधार बनाएर नहरमा पानी सञ्चालन गर्ने योजना बनाएको उनले बताए । 

आयोजना निर्देशक बमले नेपाल–भारत सन्धि भएको झण्डै २६ वर्षसम्म आउँदा मुल नहरको १८.५ किलोमिटर क्षेत्रमा मात्रै मूलनहर निर्माण सम्पन्न भएको बताए । व्रह्मदेव क्षेत्रबाट सन् २००१ मा मूल नहर निर्माण गर्ने भनेर अनुसन्धान थालिएको नहरको आर्थिक वर्ष ०६३–०६४देखि सिँचाइको मुख्य नहर निर्माण अगाडि बढाइएको उनले बताए । 

मुलनहर निर्माण सुरु भए पनि नहर निर्माणको गति तीव्र भएका कारण नहरमा अहिले पानी बग्ने अवस्था आएको हो । व्रह्मदेव क्षेत्रबाट १५२ किलोमिटर लामो मूलनहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २४ किलोमिटरको शाखा नहर बनाउनुपर्ने नहरको अहिले विभिन्न चरणमा नहर निमार्णको कार्य भइरहेको छ । 



महाकाली सन्धिको धारा ४ अनुसार नेपाली इलाकाको दोधारा–चाँदनी क्षेत्रका लागि शारदा नहरबाट पाउने पानीको लागि पनि नहर निमार्णको काम अगाडि बढाइएको उनले बताए । निर्देशक बमले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आवश्यक जग्गा अधिग्रहण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिए । 

सन् २०२२ सम्म मुलनहर निर्माण पूर्ण रुपमा सम्पन्न गरिसक्नुपर्ने भनिए पनि निर्माण पूरा हुने सम्भावना भने न्यून देखिन्छ । सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८.३५ क्युमेक्स पानी पाउनेछ भने हिउँदको समयमा ८.५ क्युमेक्स पानी प्राप्त गर्नेछ । मूल नहर निर्माणसँगै मूल नहरको शाखानहर निर्माण गर्ने कुरालाई पनि अगाडि बढाइएको छ । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका अनुसार व्रह्मदेव क्षेत्रमा १२ वटा शाखा विस्तार गरिनेछन् भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा नहरका शाखा बिस्तार गरिनेछन् । 



सन्धिअनुसार दोधारा–चाँदनी क्षेत्रमा भारतले १० घनमिटर प्रतिसेकेण्ड (३५० क्युसेक) पानी उपलब्ध गराउनेछ भनेर उल्लेख गरिएको छ । यस्तै, भारतले भने सन् १९२८ मा नै निर्माण गरेकोे शारदा ब्यारेजबाट निरन्तर भारतीय भूमिमा पानी आपूर्ति गराउने नहर करिब साढे ११ हजार क्युसेक क्षमताको छ । नेपाली पक्षबाट समयमै नहर निमार्ण गर्न नसक्दा पानीको ठूलो हिस्सा कब्जा गरेको भारतले दोधारा–चाँदनीले पाउनुपर्ने जम्मा ३ सय ५० क्युसेक पानी पनि भारतले अहिलेसम्म दिएको छैन । 

सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिँचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुईसय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो । विसं ०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पिभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो ।


 

  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १८:१६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया