झापामा फेरि भारतीय जंगली हात्तीको आतंक

भारतको पश्चिम बंगाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जंगली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान भने दिन सकेको छैन ।

चार दशकअघि जंगल मासेर मानव बस्ती विस्तार हुँदा झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जंगली हात्तीको उपद्रो सुरु भएको थियो । त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व दक्षिणको कचनकबल र पश्चिमको दमकसम्म फैलिइसकेको छ । मानवीय र धनमाल क्षतिको ग्राफ पनि उकालिँदै गएको छ ।

वन डिभिजन कार्यालयका अनुसार अहिले जिल्लाको गौरादहबाहेक १४ पालिकामा मानव–हात्ती द्वन्द्वको समस्या छ । मेचीनगर, हल्दिबारी, भद्रपुर, कनकाई, अर्जुनधारा, बुद्धशान्ति र कचनकबलमा पनि यो समस्या विकराल बनिसकेको छ । 

विगत १० वर्षमै हात्तीको आक्रमणबाट झापामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्नबाली र धनमालको क्षति करोडबाट अर्बतिर बढ्दै छ । पछिल्लो दशकमा एक दर्जन हात्ती पनि मारिएका छन् ।

भारतको आसामसम्म विचरण गर्ने जंगली हात्ती पश्चिम बंगालको सुकुना जंगलबाट मेची नदी तरेर नेपालको बाहुनडाँगी पस्ने गरेका छन् । यसरी नेपाल पस्ने हात्तीको संख्या १०० को बथानसम्म हुने गरेको छ । 

नेपालतिर अन्नबाली पाक्ने बेलामा लस्कर लागेर आउने हात्ती केही महिनापछि भारततिरै फर्किने गरेका छन् । स्थानीयवासी यी हात्तीलाई ‘भारतीय’ भन्ने गर्छन् ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार २१:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया