कर्मचारीमाथि किन जाइलाग्छन् नेता ?
प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफूलाई हातपात गरेकाे सचिव विद्यानाथ झाले आराेप लगाएका छन् ।

काठमाडौँ- आइतबार प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आफूमाथि हातपात गरेकाे आराेप सचिव विद्यानाथ झाले लगाए । त्यसलगत्तै कर्मचारीहरुले भन्न थाले– मन्त्रीहरुले कर्मचारीमाथि पटकपटक दुर्व्यवहार गर्दै आएका छन् । २०६६ सालमा कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारीमाथि हातपात गरेकी थिइन् । 

कर्मचारीहरूमाथि नेताहरूको हातपातलाई पूर्व सचिव भिम उपाध्यायले ‘सामन्ती संस्कार’ को संज्ञा दिन्छन् । उनी भन्छन, ‘नेताहरू सामन्ती संस्कारका हुन्छन् । कसैलाई टेदैनन् ।' हातपात गरेका घटना बाहिरिए पनि मन्त्रीले कर्मचारीमाथि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गर्ने दुव्र्यवहारका घटना गुपचुप रहने उपाध्यायले फरकधारलाई बताए ।  मन्त्रीहरूले कर्मचारीलाई गाली–गलोच गर्ने, कर्मचारी आफू अनुकूल नभए मन्त्रीहरूले सरुवा गरेर रिस पोख्ने गरेको तीतो अनुभव पूर्व सचिव उपाध्यायसँग छ ।    

अर्का पूर्व सचिव युवराज भुषालले मन्त्रीहरूलाई कानुन र विधि विधानको विषयमा धेरै जानकारी नहुँदा मन्त्री र कर्मचारीबिच तालमेल नमिल्ने बताउँछन् । उनी भन्छन्, ‘नेताहरूलाई कानुनको धेरै ज्ञान हुँदैन । कतिपय सरकारी प्रक्रियाको पनि जानकारी हुँदैन । भुषाल फेरि फेरि थप्छन,‘तर नेताहरू आफू जनप्रतिनिधि भएको दम्भ देखाउँदै कर्मचारीमाथि हावी हुन खोज्छन् ।'

‘कतिपय मन्त्रीले कर्मचारीलाई कानुन र प्रक्रिया मिचेर काम गराउने गराउँछन्’ पूर्व सचिव भुषालले भने,‘ चुनावमा विभिन्न वाचा गरेका हुन्छन् । वाचा पूरा गर्न विधि र प्रक्रिया मिचेर कर्मचारीलाई काम गर्न बाध्य बनाउँछन् ।’ 

निर्वाचित भएर आउने जनप्रतिनिधिले निर्वाचनमा गरेको खर्च पनि कर्मचारी संयन्त्रलाई प्रयोग गरेर उठाउन खोज्ने परम्परा रहेको भुषालको भनाई छ ।  उनी भन्छन्,‘जनप्रतिनिधिहरूले निर्वाचनमा गरेको खर्च उठाउने तनाव हुन्छ । यस्तो अवस्थामा मन्त्रीहरू कर्मचारीलाई कानुन मिच्न बाध्य गराउँछन् ।’ 

त्यस्तै अर्का पूर्व सचिव शारादाप्रसाद त्रितालले भने जनप्रतिनिधिहरूले आफ्नो रवाफ देखाउनकै लागि कर्मचारीसँग बाझ्ने गरेको बताए । ‘कर्मचारीले कानुनी प्रक्रिया अनुसार काम गर्न खोज्छन् । तर जनप्रतिनिधिहरू भने आफू अनुकूल भनेको जस्तो हुनुपर्छ भन्दै कर्मचारीहरूलाई दवाब दिन्छन्’ पूर्व सचिव त्रितालले भने ।   



जनप्रतिनिधिहरूले आफू कर्मचारीभन्दा ठूलो पदको भएको भन्दै कर्मचारीलई हेप्ने गरेको यथार्थ त्रितालले सुनाए । उनले भने,‘आफू ठूलो पदको व्यक्ति हुँ भन्दै जनप्रतिनिधिहरू कर्मचारीलाई सधैँ हेप्ने गर्छन् ।’ जनप्रतिनिधिका राजनीतिक र व्यक्तिगत स्वार्थका कारण पनि कर्मचारीसँग जनप्रतिनिधि क्रुद्ध हुने गरेको पूर्व सचिव त्रितालको भनाई छ ।    . 

कर्मचारी समायोजनमा जान नमानी रहेको अवस्थामा प्रदेश दुईमा भएको यस घटनाले कर्मचारीलाई थप त्रस्त बनाएको सचिवहरूको निष्कर्ष छ । आइतबार मन्त्रीबाट कुटिएका सचिव झाले पनि मन्त्रीले भनेको गैरसरकारी संस्थालाई बजेट नपारेको भन्दै कुटिनु परेको बताएका थिए । 



  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार १३:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया