सुदूरपश्चिममा एक वर्षमा भित्रियो एक अर्बभन्दा बढीको चामल

सुदूरपश्चिममा चामल आयातमा कमी आउन सकेको छैन । कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म दुई करोड ३५ लाख २९ हजार क्विन्टल चामल आयात भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कैलाली भन्सार नाका हुँदै एक अर्ब ६ करोड १३ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको चामल आयात भएको हो ।

गत आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म कैलाली भन्सार नाका हुँदै सुदूरपश्चिम प्रदेशमा दुई करोड ७० लाख ५५ हजार चार सय ९९ क्विन्टल चामल आयात भएको थियो । चामल आयातबाट गत जेठ मसान्तसम्म १३ करोड १९ लाख रुपैयाँ राजश्व संकलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।  अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कैलाली भन्सार नाका हुदै प्रदेशमा एक करोड तीन लाख ३५ हजार दुई सय ७७ क्विन्टल चामल आयात भएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा दुई करोड ५१ लाख २० हजार सात सय ८० क्विन्टल चामल आयात भएको थियो । 

अर्कोतिर सुदूरपश्चिम प्रदेशमा धान खेती हुने क्षेत्रफल पनि निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ । सुदूरपश्चिम कृषि विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेशमा एक लाख ७५ हजार दुई सय १८ क्षेत्रफलमा धान खेती भएको थियो भने चालु आर्थिक वर्ष २०७८/८९ मा एक लाख ७२ हजार सात सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । त्यस्तै, प्रदेशमा धानको उत्पादकत्ममा पनि ह्रास आइरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा छ लाख ४४ हजार नौ सय ९१ मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा धान उत्पादनमा ३१ दशमलव ४९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा चार लाख ४१ हजार नौ सय १३ मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ । 

प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले हरेक वर्ष धान खेती हुने क्षेत्रफलमा एक हजार हेक्टरले कमि आइरहेको बताए ।  आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा एक लाख ८१ हजार हेक्टर जमीनमा धान रोपाई गरिएको थियो । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १२:४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया