मधेश प्रदेशमा ११ महिनामा ११ प्रतिशत मात्र रोपाइँ

नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष पनि देशैभरी ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ १९ औँ धान दिवस मनाइँदै छ । 

दिवसको अवसरमा मधेश प्रदेश सरकारका मन्त्रीदेखि विभिन्न पालिकाका प्रमुखहरु खेत-खेतमै पुग्दै धान रोपेर धान दिवस मनाएका छन् । देशको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुँदै आएको छ । नेपालमा हुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । 

प्रदेशका आठवटै जिल्ला मिलाएर ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकोमा ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनुपर्ने मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 
मधेश प्रदेशमा यसवर्ष अहिलेसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जानकारी दिएका छन् । 

देशभर राष्ट्रिय धान दिवस मनाइरहँदा मधेश प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ सकिएको छ । मन्त्रालयका अनुसार मधेश प्रदेशमा अहिलेसम्म सबैभन्दा बढी पर्सा जिल्लामा रोपाइँ सम्पन्न भएको छ । त्यस जिल्लाको ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । त्यहाँ अहिलेसम्म ९ हजार ४२६ हेक्टर (२०) प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । 

सप्तरी जिल्लामा कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ । त्यहाँ यसवर्ष १० हजार २ सय हेक्टर (१५ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको हो । यस्तै सिरहा जिल्लामा कुल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गर्दछ । सिरहामा यसवर्ष ७ हजार ५६० हेक्टर (१४) प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । 



महोत्तरी जिल्लामा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५ सय हेक्टरमा धान रोपाइँ हुने गरेको छ । त्यहाँ अहिलेसम्म ४ हजार ६५० हेक्टर (१०) प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । त्यस्तै, बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ । अहिलेसम्म बारामा ४ हजार ६०२ हेक्टर (१०) प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 



रौतहट जिल्लाको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार १ सय हेक्टरमा धान रोपाइँ हुने गर्दछ । अहिलेसम्म रौतहटमा २ हजार ६६७ हेक्टर (७) प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७ सय हेक्टरमा धान रोपाइँ हुन्छ । यसवर्ष अहिलेसम्म २ हजार ३३५ हेक्टर (५) प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ । 

यस प्रदेशमा यसवर्ष सबैभन्दा कम धनुषा जिल्लामा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । यस जिल्लाको ७६ हजार ५३१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा धान रोपाइँ हुनुपर्नेमा २ हजार ३६० हेक्टर अर्थात ४ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको पालले जानकारी दिए । 

  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १३:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया