आगामी निर्वाचनमा विद्युतीय मतदान गराउने तयारी, मेसिन व्यवस्था गर्न सरकारलाई आयोगको आग्रह
फाइल तस्वीर

निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले गृह मन्त्रालय मार्फत सरकारलाई उक्त आग्रह गरेको हो । 

निर्वाचन ब्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचनसम्बन्धी कानूनमा भएको ब्यवस्था समेतको आधारमा इभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको थियो । 

समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा पठाइएको आयोगले जनाएको छ । 

‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा इभीएमको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित इभीएम तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित इभीएमको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ,’ आयोगले बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । 

आयोगले संविधान तथा संघीय कानून बमोजिम हुने राष्ट्रपति, उप राष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा इभीएम प्रयोग गर्न सक्ने कानूनी ब्यवस्था रहेको छ । 

२०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले छ वटा निर्वाचन क्षेत्रहरूमा इभीएमको  प्रयोग गरेको थियो । २०७१ सालको संविधान सभा उपनिर्वाचनमा बर्दिया, बागलुङ, काठमाडौं, कैलाली लगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा इभीएमको सफलतापूर्वक प्रयोग गरिएको थियो ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १६:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया