प्रधानमन्त्रीसहित गठबन्धनका नेताले निजगढ विमानस्थलको स्थलगत निरीक्षण गर्ने

सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरूको टोली निजगढ भ्रमणमा आउन लागेको गठबन्धनका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माण क्षेत्रको अवलोकनमा आउन लागेका हुन् । 

वातावरण र पूर्वाधार विकास बीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माण क्षेत्रको भ्रमणमा आउन लागेको हो । ‘भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने वा नबढाउने विषयमा सरकारले आवश्यक निर्णय गर्ने छ,’ ती नेताले भने । सर्वोच्च अदालतले गत बुधवार विमानस्थल सम्बन्धी मुद्दाको फैसला गर्दै निमार्ण गर्ने जिम्मा सरकारको हातमा दिएको छ । 

जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।  यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनु पर्ने भन्दै पूर्वपश्चिम लोक मार्गमा गर्दै आएको रिले अनशन बिहीबार बाट अन्त्य भएको छ । विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको पूर्णपाठलाई सकारात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनशन अन्त्य गर्ने निर्णय गरेको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा तथा खेलकुद पूर्व मन्त्री पुरुषोत्तम पौडेल अनशनकारीलाई जुस खुवाएर अनसन तोड्न लगाएका हुन् । विमानस्थल निर्माणको माग राखेर निजगढको शहीद चोकमा अनशन हुँदै आएको थियो ।  

निजगढ विमानस्थल निर्माणको माग राखेर समितिले ज्येष्ठ २४ गतेदेखि निजगढको सहिद चोकमा रिले अनशन सुरु गरेको हो । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको यसअघिको ज्येष्ठ १२ को फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै सोही दिन देखिनै राँके जुलुस, पूर्वपश्चिम लोक मार्गमा चक्काजाम र प्रदर्शन गर्दै आएका थिए ।  





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार ७:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया