एजेन्सी– चन्द्रमामा पहिलाे पटक बिरुवा उमारिएकाे छ । चीनको अन्तरिक्ष अभियान चांग'अ ले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ। चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो पटक हो।
सञ्चारमाध्यमहरूका अनुसार चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर तिनमा कोपिला लाग्न थालेको छ । यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ।
चीनको चांग'अ फोर नामको अन्तरिक्ष वाहन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो वाहन बनेको थियो। उक्त यान गत ३ जेनुअरीका दिन चन्द्रमाको पछाडि पट्टिको क्षेत्रको भौगोलिक अनुसन्धान गर्ने उपकरणहरूसहित त्यहाँ अवतरण गरेको थियो।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिएको थियो।
तर चन्द्रमामा नियन्त्रित वातावरणमा बिरुवा उमारिएको भने यो पहिलो पटक हो।
भविष्यमा हुने लामो दूरीका अन्तिरक्ष अभियानहरूका लागि याे निकै महत्त्वपूर्ण हुनसक्छ। अन्तरिक्षयात्रीहरूले अन्तरिक्ष यात्रामा रहेका बेला आफ्नो लागि आवश्यक खानेकुरा उमारेर प्रयोग गर्न सक्नेछन् भन्ने हो। त्यसो हुन सकेमा अन्तरिक्षयात्रीहरूले खानेकुरा प्राप्त गर्न बारम्बार पृथ्वीमा फर्कनुपर्ने छैन।
चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरिक्ष यानले आफ्नो साथमा कपास र आलुको बीउसहितको माटो, मर्चा र एकप्रकारको झिंगाको अण्डा लगायतका वस्तु लिएर गएको थियो।
त्यसरी उम्रिएको बिरुवा बाहिरबाट केही पनि पस्न नसक्ने गरी सिसाको भाँडोमा राखिएको छ।
अब उक्त बिरुवाले त्यस्तो भाँडाभित्र एक सूक्ष्म जैविक मण्डलको सिर्जना गर्नेछ र त्यस्तो कृत्रिम वातावरणमा त्यो आफै हुर्कनेछ।
१८ सेन्टिमिटर अग्लो र ३ केजी तौल भएको त्यस्तो कृत्रिम जैविक मण्डल सिर्जना हुने भाँडाको डिजाइन चीनका २८ वटा विश्वविद्यालयहरूले संयुक्त रूपमा तयार पारेका थिए।
उक्त प्रयोगात्मक भाँडामा सूक्ष्म जीवाणुहरूलाई हुर्कन पुग्ने हावा, पानी र पोषण उपलब्ध छ।
तर वैज्ञानिकहरूका अनुसार माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म उतारचढाव भइरहने चन्द्र सतहको तापक्रममा बिरुवा हुर्कनलाई उपयुक्त हुने तापक्रम कायम राख्नु सबैभन्दा ठूलो चुनौती हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।