एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस
सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा : प्रधानमन्त्री ओली

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने,‘हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ ।’ 

सरकार २०७२ सालको भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणमा जुटेको उल्लेख गर्दै उनले कोही पनि भूकम्पपीडित नछुटुन् भनेर भूमिहीन, ऐलानी र प्रतिजग्गामा बसोबास गरिरहेका परिवारका लागि समेत सुरक्षित आवास पुनःनिर्माण गर्ने व्यवस्था गरेको बताए । 

 ‘पैसा नभएर घर निर्माण गर्न नसकेकालाई प्राथमिकतामा राखेर सहुलियत कर्जा उपलब्ध गराउनका लागि सहुलियत कर्जासम्बन्धी एकीकृत कार्यविधि जारी गरी लागूसमेत गरिसकिएको छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ज्येष्ठ नागरिक, व्यक्ति र बालबालिकाका लागि थप रु ५० हजार अनुदान दिने र भूकम्प प्रतिरोधी घर पुनःनिर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रक्रिया शुरु भइसकेको छ ।’ 

सरकार पुनःनिर्माणको काम दिगो होस् भनेर स्थानीय तहलाई स्रोत साधन र कार्य जिम्मेवारीसमेत हस्तान्तरण गरिरहेको र पुरातात्विक सम्पदाको पुनःनिर्माण गर्दा परम्परागत मौलिकता कायम गर्न विशेष ध्यान दिइएको प्रधानमन्त्रीले दिएको सन्देशमा उल्लेख छ । उनले  सुरक्षित, भूकम्प प्रतिरोधी र मौलिक शैलीका सम्पदाको निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।  रम्परागत बस्तीलाई मौलिक शैलीमा पुनःनिर्माण गर्न थप रु ५० हजार अनुदान दिने व्यवस्था मिलाइएको छ । काठमाडौँ उपत्यका र बाहिरका परम्परागत बस्तीका लागि गुरुयोजना तयार गरिएको, तीन तहको सरकार, स्थानीय समुदायको सहभागिता र स्वामित्वमा पुनःनिर्माणका काम भइरहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । 

प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रलाई मात्र होइन, सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्प प्रतिरोधी बनाउनका लागि प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जानकारी दिएका छन् । ‘कुनै पनि प्रकारको विपद्लाई न्यूनीकरण गर्न र कुनै पनि विपद्को सामना गर्न हामीले पूर्वतयारी कार्यमा विशेष ध्यान दिनै पर्छ’, सन्देशमा उल्लेख छ । 

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट पुगेको क्षति र त्यसको पुनःनिर्माणको अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा सरकार अग्रसर रहेको सन्देशमा उल्लेख छ ।  रासस 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार ७:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया