डिलाशैनीको बजेट सवा ६२ करोड, प्राथमिकतामा कृषि र स्वास्थ्य

बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/८०को बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक वर्ष ०७९/८० का लागि ६२ करोड ३५ लाख ५९ हजार रकमको बजेट ल्याएको हो । 

बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट(यदु)ले बताए । उनले भने, 'हामीले बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेका छौँ । कृषि र पशु पालनलाई व्यवसायीकरण गरेर नागरिकको आर्य आर्जन वृद्धि गर्न बजेट छुटाएका छौँ ।' आर्थिक विकासको योजनालाई प्राथमिकता दिएको उनले बताए । 

गाउँपालिकामा चिकित्सकीय सेवा प्रदान गर्न एक जना डाक्टर र एक जना जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिने बजेटमा उल्लेख छ । माध्यमिक तहका १२ ओटै विद्यालयमा एक एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रमअन्तर्गत विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गरिने समेत उल्लेख छ । यसै गरी, स्वास्थ्य स्वयंसेविकाहरूलाई विशेष भत्ता सुविधासहित परिचालन गर्ने कार्यक्रम बजेटमा उल्लेख रहेको छ ।

ज्येष्ठ नागरिकका गुनासा, अनुभव र सुझाव ग्रहण गर्न 'बाजेको अर्ति' कार्यक्रम राखिएको छ । यसै गरी, युवासँग अध्यक्ष कार्यक्रम समावेश गरिएको छ । 

गाउँपालिकाको पारदर्शिताका लागि सूचना प्रविधिको विकास गर्न भन्दै एफएम रेडियो र पत्रिका सञ्चालन गर्ने कुरा बजेटमा उल्लेख छ । सहिद परिवारलाई मासिक तीन हजार रकम भत्ता दिने कार्यक्रम तय गरिएको छ । गाउँपालिका स्तरीय कृषि नर्सरी स्थापना गर्ने, कृषक सँग कृषि प्राविधिक कार्यक्रम सञ्चालनमा ल्याए उत्पादनमा वृद्धि गर्ने कार्यक्रम तय गरिएको छ । 

पशुपालनतर्फ बाख्रा पालन, कुखुरा तथा कालिज पालन र माछा पालन गर्ने कृषकका लागि बजेटको व्यवस्था गरिएको छ ।  





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार १४:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया