युवालक्षित परियोजनाका लागि साढे १८ हजार आवेदन

काठमाडौं– सरकारले सुरु गरेको वैदेशिक रोजगारीबाट फर्किएका युवालक्षित परियोजना कार्यक्रममा १८ हजार ७ सय ३१ आवेदन परेको छ । जसमा ११ सय अनलाइन तथा ६० आवेदन कुरिअरमार्फत आएको थियो भने बाँकी आवेदन वैदेदिक रोजगार प्रवद्र्धन बोर्डको कार्यालयमै दर्ता भएको बोर्डले जनाएको छ । 

सरकारले वैदेशिक रोजगारीमा गएर विशेष ज्ञान, सीप र दक्षता आर्जन गरी नेपाल फर्किएका र स्वदेशमै व्यवसाय गर्न इच्छुक व्यक्तिका लागि आवेदन माग गरेको थियो । सरकारले ६ मंसिरदेखि पुस मसान्तसम्म आवेदन फाराम खुला गरेको थियो । 

आवेदनमा विदेशमा गरेको कामको अनुभवका आधारमा नेपालमा गर्न चाहेको व्यवसायको प्रस्ताव मागिएको थियो । कुनै पनि देशमा ६ महिनाभन्दा बढी काम गरेको र नेपाल फर्केको तीन वर्षभन्दा बढी समय नभएका जुनसुकै उमेरका व्यक्तिले आवेदन दिन पाउने व्यवस्था थियो । उक्त प्रस्तावका आधारमा आवेदकले बिनाधितो १० लाख रुपैयाँसम्म कर्जा पाउन सक्नेछन् । 

बोर्डले आएका आवेदनको डाटा इन्ट्रीको काम थालेको छ । बोर्डका उपसचिव दिनबन्धु सुवेदीले पहिलो चरणको छनोटको काम बोर्डले नै गर्ने र त्यसपछिको प्रक्रियाका लागि अर्थ मन्त्रालय पठाउने बताए ।  

अर्थ मन्त्रालयले स्वरोजगार बन्न चाहने क्षेत्रको मूल्यांकन गरी त्यसैका आधारमा वाणिज्य बैंकलाई कर्जाका लागि सिफारिस गर्नेछ । तर, कर्जाको आकार भने बैंकले नै तय गर्नेछ । बैंकले प्रस्ताव हेरेर १० लाखसम्म कर्जा दिन सक्ने बताइएको छ । ऋणीले पाँच वर्षभित्र किस्ताबन्दी रूपमा सबै कर्जा चुक्ता गर्नुपर्ने हुन्छ । कर्जाको ब्याज भने ३ प्रतिशत कायम गरिएको छ । 

प्रारम्भिक अध्ययन गर्दा सबैभन्दा धेरै कृषि क्षेत्रमा काम गर्न चाहने आवेदन परेको बोर्डले बताएको छ । बोर्डका अनुसार युरोपमा काम गरी फर्किएकाहरूले पनि आवेदन दिएका छन् । बोर्डका अनुसार सबैभन्दा बढी आवेदन खाडी मुलुकबाट फर्किएकाको परेको छ ।
 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १२:३५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया