सडकमा द्वन्द्वपीडित : १२ वर्षदेखि न्याय माग्दै !

काठमाडौं– तत्कालीन नेकपा माओवादीले सुरु गरेको दशवर्षे सशस्त्र आन्दोलन सकिएको १३ वर्ष पूरा भइसक्यो । तर, त्यस युद्धले बनाएका घाउमा अझै खाटा बसिसकेको छैन । पूर्वमाओवादी लडाकुहरूको अनशन नसकिँदै फेरि पूर्वप्रहरी, सैनिक परिवारले माइतीघरमा आन्दोलन सुरु गरेका छन् । मुटु पोल्ने युद्धका घाउ बोकेर माइतीघरबाट सरकारलाई आफ्नो पीडा सुनाइरहेका छन्, द्वन्द्वपीडित । 

गुल्मीकी तुलसी बस्नेतको सिन्दूर द्वन्द्वले खोस्यो । सशस्त्र प्रहरीमा कार्यरत उनका श्रीमान् वालिङमा विद्रोहीको निशानामा परे । तीन छोराछोरीलाई टुहुरो बनायो । उनी आफैँ सहाराविहीन बनिन् । त्यसपछि उनको आँखामा आँसु रोकिएको छैन । झलझली आँखैमा आइरहने श्रीमानकाे यादले उनलाई सधैँ सताउँछ पतिवियोगले उनलाई कहिल्यै निको नहुने चोट लाग्यो । देशलाई गणतन्त्रमा पुर्याउने द्वन्द्वले उनको परिवारमा भने आँधीहुरी आयो । गणतन्त्रले उनका गुमेका श्रीमान् फिर्ता गराउन सक्दैन, तर न्याय दिन्छ कि भन्ने आशाचाहिँ जीवित छ । 

त्यसैले द्वन्द्वसँगै नाता नगाँसिएको आफू र आफूजस्तै अबलाहरूको न्यायका लागि लडिरहेकी छिन्, तुलसी । सबैको पीडालाई पनि आफ्नै मानेर सुनिदिन राज्यसमक्ष अपिल गरिरहेकी छिन् ।  उनी भन्छिन्, ‘अरू मानिसले देख्दा हामीले के–के न पाए जस्तो भएको छ, तर मरणभत्ताबापत अढाई लाखबाहेक केही पाएका छैनौँ । 
‘उनी राज्यसमक्ष बिन्ती बिसाउँछिन्, ‘मैदानमा जान दिएको उत्प्रेरणा भत्तालाई नै राहत मानिने भनिएको छ । जुन हामीलाई स्वीकार छैन ।'  उनका श्रीमानको युद्धमा जाने रहर थिएन । हातमुख जोड्न प्रहरीमा भर्ती भएका उनी अन्ततः माओवादीको निशानामा परे । ‘जागिर नखाने, बरू भोकै बस्ने भनेर जागिर छाड्ने निधो पनि गर्नुभएको थियो,’ द्वन्द्वपीडित तुलसीले सुनाइन् ।

 त्यतिवेलाको घटनाले अझै मेरो आँखा रसाइरहन्छ ।  राजीनामा स्वीकृत हुँदैन । युद्धमा ज्यान गएछ भने साँढे सात लाख दिन्छौँ भनेर सरकारले जबर्जस्ती मैदानमा पठायो ।’ उनका श्रीमान् युद्धमा दिवंगत भए । राज्यले कबुल गरेअनुसार पैसा पनि दियो । तर, साढे सातलाखले जीविकोपार्जन नभएपछि उनी सडकमा आइपुगेकी हुन् । माइतीघरमा एक्ली छैनन् । आफूजस्तै पीडितहरू भेला पारेर आवाज बुलन्द गरेकी छिन् । 

उनका श्रीमान् साढे सात लाख प्रोत्साहन रकममा टेकेर युद्धमा होमिए । तर, अहिले सरकारले चलाखी गरेछ । अढाई लाख थपेर मृतक परिवारलाई दिनुपर्ने रकम त्यसैबाट कटौती गर्यो । सरकारको यही निर्णयको विरुद्ध सडकमा ओर्लिन बाध्य छन्, द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघका सदस्य । चारै निकायका सुरक्षाकर्मीका पीडित परिवार एक्लै हिंड्दा माग सम्बोधन नभएपछि संगठित भएका हुन् । तर, उनीहरूका माग सरकारले सुन्छ कि सुन्दैन थाहा छैन । 

तुलसीकै जस्तो पीडा छ, सोलुखुम्बु घर भएकी राजकुमारी बस्नेतको पनि । हरेक दिन टेलिभिजन सुरक्षाकर्मी र विद्रोही मारिएका समाचार सुन्दै आइकी उनले एक दिन उनकै श्रीमान् पनि समाचार बन्न बाध्य भए । दुःखद् समाचार । ०५९ साल कात्तिक २ गते कैलाली एम्बुसमा श्रीमानको मृत्युभएपछि तीन सन्तानको जिम्मेवारी उनकै काँधमा आयो । ‘घटना हुँदा र त्यसपछिका दिनमा अझ के–के भोगेँ सुनाउँन सक्दिनँ’ बोल्दाबोल्दै उनका आँखा रसाए । 



घटनाबारे बयान गर्न सक्दिनन्, उनी । राज्यले कुनै अधिकार नदिएको र पाउनैपर्ने पनि भाग पनि खोसिदिएको उनको आरोप छ । ‘दुईतिहाइको सरकार बनेको छ । यतिका वर्ष भइसक्दा द्वन्द्वपीडितका परिवारले के खाएका होलान्, कस्तो अवस्था होलान् सरकारले वास्ता गर्नुपर्दैन ?’ सरकारका लागि प्रश्नै प्रश्न छ द्वन्द्व पीडितसँग । ‘हक पाउन पनि सरकार फेरिँदै पिच्छे सडकमा नारा लगाउनुपर्ने ? यो अवस्था कहिलेसम्म ? दिन सकिँदैन भने गरिबलाई किन आस देखाएको ?’

देशका सुरक्षाका खातिर आफ्ना मान्छेले ज्यान गुमाए, तर अहिले सुरक्षाकर्मी परिवार राज्यबाटै असुरक्षित बनाइएको गुनासो सबैको छ । ‘हामीले सरकार नै देऊ भनेको त होइन नि !’ उनको आक्रोश झन् बढ्यो । ‘जिउमा दुईवटा गोली बोकेर हिँडेका सुरक्षाकर्मीले सरकारलाई के भनेर बुझ्ने ? के उनीहरूको योगदानको कदर यही हो ?’ अनुत्तरित प्रश्न लिएर उनी भिडमा नारा लगाउन थाल्छिन्– ‘हाम्रा बालबच्चालाई पढ्ने अधिकार दे, हाम्रो सुरक्षा व्यवस्था कायम गर, द्वन्द्वमा मारिएकालाई सहिद घोषणा गर..!’



सुरक्षाकर्मीका परिवार मात्र होइन । द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मी स्वयम् पनि न्यायका निम्ति माइतीघरमा नारा लगाउन बाध्य छन् ।  गोलीले खाएका खुट्टा र गोली गढेको मेरूदण्डसहित भिडको एक कुनामा भेटिन्छन्, भक्तपुरका कृष्णभक्त लागेजु । उनी आक्रमणमा पर्दा जनयुद्धले हाँगा हाल्दै थियो । ०५५ सालको पुसमा । पूर्व सूचना केही पनि पाएनन् । युद्धको गन्ध फैलिसकेको भए पनि तत्काल हातमा अत्याधुनिक हातहतियार परेको थिएन ।  साँझको ६ बजेको थियो । गाडीसहित एक हुल मानिस ललितपुर भट्टेडाँडास्थित प्रहरीको घेराभित्र पसे । 

‘के भएको हो ठम्याउन नभ्याउँदै गोली बर्सिन थाल्यो,’ विगतमा भएको घटना सम्झँदै उनी भन्छन्, ‘उनीहरू धेरै थिए, हाम्रै हतियार खोसेर साथिहरूलाई मारे । मलाई पनि मर्यो भनेर फालेका थिए । भाग्यले यहाँसम्म ल्याउन रहेछ, बाँचे ।’ दुई गोली खाए पनि होस नगुमेका साथीहरूले उनलाई बचाए । तर, अहिले जिन्दगी नै बेकार भएको महसुस गर्दै छन्, कृष्णभक्त । खुट्टाको गोली त निकालियो, तर खुट्टा नै गुम्यो । अहिले स्टिल राखेर काम चलाइरहेका छन् । एक वर्ष ओछ्यान परेर उपचार गरेपनि मेरुदण्डको गोली निकाल्न सकिएन । अहिले पनि मिल्ने अवस्था छैन । त्यसो त गोलीकै कारण दायाँ हर नै अर्धचेत अवस्थामा पुगिसकेको छ । घाइते ज्यान घिसार्दै न्यायका लागि भौँतारिन थालेको पनि एक झन्डै एक दसक पुग्न थालिसक्यो । यो बीचमा बाह्रपटक सरकार बदलिए, तर पीडितका दुःख भने उस्तै छन् ।  

‘सरकारको आदेश मानेर मैदानमा जाँदा एउटा आँखा गुमाउनुपर्यो । प्लास्टिकका आँखा झिक्दै अर्का घाइते जनकबहादुर पन्त बिलौना गर्छन्, ‘हामी घाइते सुरक्षाकर्मी हौँ भनेर देखाउने परिचय पनि छैन ।’ तनहुँको भिरकोटमा विद्रोहीले एम्बुस थापेको हुन सक्छ भनेर कुराकानी गर्दागर्दै एम्बुसमा परेँ । सोही एम्बुसमा घाइते हुँदा पन्तको दायाँ आँखा नै गुम्यो । बायाँ आँखाले पनि राम्रो काम गर्दैन । गोलीका छर्रा लागेका घाउ त छँदै छ । सरकारले अवकास थमाएपछि फर्केर पनि नहेरेको उनी गुनासो गर्छन् । होटलमा बसेरै भए पनि न्यायका लागि नारा लगाइरहेका छन् । सरकारले सुन्छ कि यसपालि पनि भरिएको आस र रित्तो हात पठाउँछ यो उनलाई पनि थाहा छैन ।

श्रीमानको लास बोकेर सदगदका लागि गाउँ जाँदा पनि माओवादीका कार्यकर्ताले धम्की दिएर लखेटेको घटना बारबार सुमित्राको आँखामा पिङ खेल्छन् । २०६० फागुन १९ गते भोजपुर दोहोरो घटनामा श्रीमानको ज्यान गएपछि, उनी आफैँ पनि गाउँ ओखलढुंगा बस्न थालिन् । पाँच दिनसम्म लास बोकेर हिँडेपछि सेनाको सुरक्षामा धरानमा अन्तिम संस्कार गरिन् । 

मृत श्रीमानको तस्बिर उनी साथै लिएर हिड्छिन् । तस्बिर नै सहारा बनेको छ । तर, उनी आफैँ भने हेर्न सक्दिनन् । तर, कसैले सोधखोज देखाउन भुल्दिनन् । तीन छोराछोरीसहित उनी काठमाडौंमा नै बसिरहेकी छिन् । ‘मेरो श्रीमानको संस्कार जुन गाउँमा गर्न सकिनँ, म अब त्यहाँ किन जानु’ विक्षिप्त तस्बिर देखाउँदै उनी भन्छिन्, ‘यस्तो अवस्थाको श्रीमानको लास बोकेर म चार दिनसम्म भौँतारिए । सबैलाई एकै चिहान पारिदिन्छु भनेर धम्की दिए ।’ अहिले सरकारले पनि धम्की दिइरहेको हो किजस्तो लाग्छ, सुमित्रा तामाङलाई । न्याय दिन सक्दैन, पाउनुपर्ने अधिकार पनि दिँदैन भने अरू के बुझ्ने ? प्रश्न गर्छिन् उनी । 

यस्तै पीडा छ, मुगुका राजबहादुर शाहीको पनि । पीडा बोकेर माइतीघरको सडकमा भौँतारिइरहेका छन् । घरीघरी लाग्छ– यस्तो हन्डर खाएर बाँच्नुभन्दा उतिवेलै मर्न पाएको भए हुन्थ्यो ! ‘यस्तो चिसोमा हामी रहरले आन्दोलन गर्न थालेका होइनौँ । दुईतिहाइ सरकारले गाउँमा गाई भैँसी चराएको समेतमा कर लगाउँछ । जम्मा पारेको करले जहाज किन्छ र अर्बौं भ्रष्टाचार गर्छ । तर हामी राज्यका लागि लडेको सुरक्षा कर्मीलाई मर्नु न बाँच्नु भएरहेको छ । सरोकारवाला निकायले यो विषयमा बहस गरिदिँदा हाम्रा लागि केही व्यवस्था गरे होला । केही राहात पाइएला कि भनेर हामी बाख्रा, कुखुरा बेचेर पैसा जोहो गर्दै प्लेनबाट आइरहेका छौँ । शरीर असक्त छ लामो यात्रा बसमा गर्न सक्दैनौँ । राज्यले सडकमा आउन बाध्य पार्छ’ एकै सासमा भनिसक्छन्, उनी ।  

उनका पीडा यति मात्रै छैनन् । एम्बुसमा परेर कानको जाली फुट्यो । भित्री अ‌गमा समेत असर पुर्याएकाले जेनतेन मेसिन जोडियो । अहिले आफैँले बोलेको पनि गुन्जिएको आवाज आउँछ । ‘राज्यलाई बचाउन हामी ज्यानको बाजी लगायौँ । सरकारले लडाइँमा पठायो । तर, हामीलाई आज बचाउन राज्य मानिरहेको छैन ।उनका पीडा यति मात्रै छैनन् । एम्बुसमा परेर कानको जाली फुट्यो । भित्री अङ्गमा समेत असर पुर्याएकाले जेनतेन मेसिन जोडियो । अहिले आफैँले बोलेको पनि गुन्जिएको आवाज आउँछ । ‘राज्यलाई बचाउन हामी ज्यानको बाजी लगायौँ । सरकारले लडाइमा पठायो । तर, हामीलाई आज बचाउन राज्य मानिरहेको छैन । शसक्तलाई असक्त बनाएर राज्य पन्छिन खोजिरहेछ,’ उनी दुखेसो पोख्छन् । 

  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १३:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया