logo-img

करिश्मा भन्छिन्– स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ

अभिनेत्री करिश्मा मानन्धरले स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन् ।

काठमाडौंको बालुवाटार सडकखण्डमा ठेलामा मकै पोलेर बेच्ने चेतेन्द्र आचार्यलाई महानगर प्रहरीले कुटपिट गर्दै ठेला खोसेर लगेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । यही विषयलाई लिएर काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । यो घटनाले देश नै दुई ध्रुवमा बाँडिएको छ ।

यही विषयमा करिश्माले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छन्, ‘म पनि काठमाडौंको रैथाने बासी हुँ । नबुझेको कुरा लेख्दै छु । महानगर सफा हुनुपर्छ सही हो । हामीले आफ्ना करोडौं पर्ने जग्गा, घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्यौँ सही हो । बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन त्यो पनि सही कुरो हो । गाउँ छाडेर हाम्रा सहरमा गरिखान किन आउँछन् मानिसहरू? त्यसमा प्रश्न छ ।’

करिश्माले ग्रामिण सामाजिक अवस्थाबारे पनि चर्चा गरेकी छन् । ‘गाउँमा स्वास्थ छैन, शिक्षा छैन, बाटो छैन, सिँचाइ छैन । दैवी प्रकोपमा परेकाहरूको लागि गाँसबास, कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्यो समयसम्म उनीहरुका केटाकेटीले नपढ्ने ? क्षणिक भावनामा बगेर मायाले दुई दिन केही रकम दिएर तिनको उद्दार  हुँदैन । समस्याको दूरगामी समाधान कस्ले गर्ने ? ऊ आफैँले हो, ऊ आफैँले गर्नुपर्ने अवस्था छ । त्यसैले उसले काम गर्नुपर्छ । यदि ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने  यो देशको समग्र भूमिमा टेक्ने अधिकार उसलाई छ । ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ । जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन । तपाईंहरूलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन,’ उनले लेखेकी छन् ।

करिश्माले अहिले काठमाडौंमा देखिएको समस्या हरेक महानगरको समस्या हुने पनि बताएकी छन् । ‘हरेक लागू गरेका नियमहरूको परिणाम र दूरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो । यो काठमाडौको मात्रै समस्या होइन, भविष्यमा हरेक महानगरको समस्या हुनेछ । स्ट्रिट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । मानिसहरुले पर्यटकहरुले यसको आनन्द उठाइरहेको देख्न सक्छौँ । व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ लाग्ने? कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने?,’ उनले प्रश्न गरेकी छन् ।





  • प्रकाशित मिति : असार २०, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया