बागमतीमा क्षयरोगका बिरामी बढ्दै, उपचारको दायरामा ल्याउन किन हुँदैछ कठिनाइ ?

बागमती प्रदेशमा क्षयरोगका बिरामीको संख्या​ बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कअनुसार प्रदेशका १३ जिल्लामा क्षयरोगको नियन्त्रण हुन नसकेको पाइएको हो । 

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा चालू आर्थिक वर्षमा क्षयरोगका बिरामीको संख्या बढेको पाइएको निर्देशनालयका प्रादेशिक क्षयरोग कार्यक्रम संयोजक शम्भुकुमार शाहले जानकारी दिए । नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रमहरू ल्याए पनि क्षयरोगको नियन्त्रण गर्न नसकिएको संयोजक शाहले बताए ।  

स्वास्थ्य निर्देशनालयका अनुसार केही वर्षअघि गरिएको एक सर्वेक्षणमा प्रदेशमा १५ हजार ९ सय ८ क्षयरोगका बिरामी रहेको पुष्टि भएको थियो । तर, त्यो गणनाका अनुसार लक्ष्य पछ्याएर उपचारको दायरामा अझै ल्याउन नसकिएको निर्देशनालयले जनाएको छ । 

बागमतीका १३ मध्ये काठमाडौं जिल्लाका मानिसमा क्षयरोगको सङ्क्रमण बढी रहेको छ । काठमाडौंमा गत आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ९ सय ८१ क्षयरोगका बिरामी रहेका थिए ।

चालू आर्थिक वर्षको साउनदेखि पुस (६ महिना) को अवधिमा अघिल्लो आर्थिक वर्षको तथ्याङ्कमा ठूलो सङ्ख्यामा बढ्ने अनुमान गरिएको संयोजक शाहले बताए । ६ महिनाको अवधिमा काठमाडौंमा १ हजार ६ सय ३६ जना क्षयरोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ । बाँकी ६ महिनाको तथ्याङ्क आर्थिक वर्षको अन्त्यमा मात्रै आउने भन्दै वर्षैपिच्छे क्षयरोगका बिरामी बढिरहेको शाहले जानकारी दिए । 

त्यस्तै, प्रदेशको धादिङमा गत आर्थिक वर्षमा २ सय १० मानिसमा क्षयरोग भएको पुष्टि भएको थियो । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा धादिङमा १ सय २५ जना क्षयरोगका बिरामी भेटिएको निर्देशनालयले जनाएको छ । दोलखामा गत आर्थिक वर्षमा ९० जना क्षयरोगका बिरामी भेटिएकोमा चालू आवको ६ महिनामा २४ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको निर्देशनालयले जनाएको छ । 



त्यस्तै, नुवाकोटमा गत आर्थिक वर्षमा १ सय ९७ क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनाको अवधिमा ७१ जनामा क्षयरोग पत्ता लागेको निर्देशनालयले जनाएको छ । रसुवामा गत आर्थिक वर्षमा ३१ जना क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनामा १७ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

यस्तै, बागमतीको सिन्धुपाल्चोकमा गत आर्थिक वर्षमा १ सय ६९ क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनाको अवधिमा ९३ जनामा सङ्क्रमण भेटिएको छ । सिन्धुलीमा गत आर्थिक वर्षमा २ सय २२ क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनाको अवधिमा १ सय ५२ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको निर्देशनालयको तथ्याङ्क छ ।



चितवनमा गत आर्थिक वर्षमा ८ सय ८९ क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनामा ५ सय २५ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै, प्रदेशको काभ्रेपलान्चोकमा गत आर्थिक वर्षमा २ सय ५५ क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनामा १ सय ३५ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको छ ।

त्यस्तै, भक्तपुरमा गत आर्थिक वर्षमा ४ सय ५२ क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनाको अवधिमा २ सय ९१ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको निर्देशनालयको तथ्याङ्क छ । ललितपुरमा गत आर्थिक वर्षमा ५ सय ५२ क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनामा ४ सय ३५ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको छ ।

आर्थिक वर्षको अन्त्यसम्मको तथ्याङ्कमा यो सङ्ख्यामा वृद्धि हुने बताइएको छ । यस्तै, रामेछापमा गत आर्थिक वर्षमा ८५ जना क्षयरोगका बिरामी फेला परेकोमा चालू आवको ६ महिनामा ३८ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको तथ्याङ्क छ । मकवानपुरमा गत आर्थिक वर्षमा ५ सय ३० क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनामा ३ सय १ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बागमतीमा क्षयरोगका बिरामीको सङ्ख्या बढिरहेको स्वास्थ्य निर्देशनालयका प्रादेशिक कार्यक्रम संयोजक शाहले जानकारी दिए । 

के हो क्षयरोग?

क्षयरोग विश्वमा  प्रमुख जनस्वास्थ्य समस्याको रूपमा चिनिन्छ । २०७० को तथ्याङ्कअनुसार नेपालमा करिब ६० प्रतिशत वयस्क जनशक्ति क्षयरोगबाट सङ्क्रमित छन् । त्यसमध्ये करिब ८० देखि ९० हजार मानिस क्षयरोगबाट पीडित छन् । करिब ५ हजारदेखि ७ हजार व्यक्तिप्रति वर्ष क्षयरोगबाट ज्यान गुमाउने गरेका छन् ।

क्षयरोग फोक्सोमा लाग्ने रोग भए पनि शरीरका अन्य अंगमा पनि यसको संक्रमण हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । फोक्सोबाहेकका अन्य अंगमध्ये फोक्सोको बाहिरी झिल्ली, लासिका ग्रन्थी, पाचन प्रणाली, मूत्र प्रणाली तथा प्रजनन प्रणाली, हाडजोर्नी, मस्तिष्कको बाहिरी झिल्ली, छाला, आँखामा पनि क्षयरोगको संक्रमण हुने गरेको छ ।

लगभग २० प्रतिशत क्षयरोगका बिरामीमा फोक्सो बाहिरका क्षयरोग सङ्क्रमण भेटिएको तथ्याङ्क छ । जसको १५ प्रतिशत बिरामीमा मूत्र प्रणालीको क्षयरोग भेटिन्छ । अविकसित र विकासोन्मुख देशमा मूत्र प्रणालीको क्षयरोग प्रमुख दोस्रो क्षयरोग हो भने विकसित देशमा यो तेस्रो मानिन्छ ।  

स्वास्थ्यकर्मीका अनुसार फोक्सोको क्षयरोग पत्ता लगाउने भरपर्दो उपाय खकार परीक्षण गर्नु उत्तम मानिन्छ । दुई वा त्योभन्दा बढी खोकी लागेमा अनिवार्य खकार परीक्षण गर्नुपर्दछ । त्यस्तै, क्षयरोग निदानको लागि एक्स–रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन् 

क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्णरूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरू निःशुल्क वितरण गर्दै आएको छ । 

  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ८:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया