लगानी सम्मेलनबारे परामर्श बैठक

काठमाडौं– नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’बारे बुधबार दातृसमूहसँग परामर्श बैठक भयो । 

सम्मेलन आयोजक समितिका संयोजक एवं अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालको विकासका द्विपक्षीय र बहुपक्षीय साझेदारले कानुनी, शासकीय र प्रक्रियागत सुझाब दिएका थिए । 

काठमाडौंस्थित अधिकांश कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुख, बहुपक्षीय एवं द्विपक्षीय विकासका साझेदार, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सहभागी उक्त बैठकमा उनीहरूले नेपालमा लगानी भित्र्याउन र सम्मेलनलाई सफल तुल्याउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्री खतिवडाले बताए । 

सम्मेलनमा नेपालको कृषि, ऊर्जा, भौतिक पूर्वाधारअन्तर्गत रेल, सडक र हवाई सेवा सञ्चालन तथा विस्तार, उद्योग र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउने विषयमा विस्तृत छलफल हुनेछ । 

लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सहआयोजनामा हुने उक्त सम्मेलन मुलुकलाई समृद्ध बनाउन आवश्यक बाह्य लगानी भित्र्याउन सफल हुने विश्वास गरिएको छ । 

यसअघि २०७३ सालमा गरिएको लगानी सम्मेलन फलदायी भएको निष्कर्ष निकाल्दै सरकारले थप लगानी प्रवर्द्धन गर्न पुनः अन्तराष्ट्रियस्तरको लगानी सम्मेलन गर्न लागेको हो । 
 





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १४:२२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया