घोडेपानी-घान्द्रुक पदमार्गमा ६५ हजार पर्यटक

म्याग्दी- म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय घान्द्रुकले जनाएको छ । 

वीरेठाँटीमा रहेको चेकपोस्टकाे तथ्यांकअनुसार सन् २०१७ को तुलनामा २०१८ मा सो क्षेत्रमा १ हजार ५ सय ३९ बढी पर्यटक भ्रमणमा आएका एक्याप घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले जानकारी दिए । अधिकृत कुइँकेलका अनुसार सन् २०१७ मा ६३ हजार ५ सय ३७, सन् २०१६ मा ४७ हजार २ सय ७४, सन् २०१५ मा ३६ हजार र २०१४ मा ४२ हजार पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । 

वीरेठाँटी, शिख र छोमरोङ चेकपोस्टमार्फत घोडेपानी, घान्द्रुक क्षेत्रको पदयात्रामा आउने र फर्कने पर्यटकको विवरणसहितको तथ्यांक राख्ने गरिन्छ । म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबिसी क्याम्प, घम्पुसलगायत पर्यटकीयस्थल यहाँको आकर्षण हो । 

वीरेठाँटीबाट भित्रिएका आधा जसो पर्यटक छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर (एबिसी) पुग्ने रेका छन् । सन् २०१८ मा ३३ हजार ६ सय ७९ पर्यटक छोमरोङ हुँदै एबिसी पदयात्रामा गएका थिए । छोमरोङ हुँदै एबिसी पदयात्रामा जाने पर्यटकको संख्या २०१७ मा ३१ हजार ६ सय ८९ थियो । मगर, गुरुङ बस्ती, उनीहरूको कला, संस्कृति जीवनशैली, हिमशृङ्खला, सूर्योदय, लालीगुराँसको जंगल, एकान्त वातावरण यस पदमार्गको मुख्य विशेषता हो । घान्द्रुक घोडेपानी क्षेत्रमा चिनियाँ, फ्रेन्च, कोरियन र मलेसियन पर्यटक बढी मात्रामा आउने गरेका छन् । 

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लालाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति २ सय र अन्य मुलुककाले प्रतिव्यक्ति दुई हजारका दरले सरकारलाई शुल्क तिर्दै आएका थिए ।

सरकारले गत कात्तिकमा राजपत्रमा सूचना प्रकाशन गरेर नेपालीलाई पनि प्रतिव्यक्ति सय रुपैयाँका दरले प्रवेश शुल्क लिने र विदेशीको प्रवेश शुल्क वृद्धि गरेकोमा समुदाय तथा पर्यटन व्यवसायीले विरोध जनाएका छन् । पछिल्लो व्यवस्थाअनुसार सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति तीन हजार शुल्क निर्धारण गरिएको छ ।





  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १४:३५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया