काठमाडौं– थाइल्यान्डमा जारी टी–२० स्म्यासमा नेपालले थाइल्यान्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्दै चौथो जित दर्ता गरेको छ । पहिलो चरणको सबै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
यसअघिको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । यस्तै, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई पनि ६ विकेटले नै पराजित गरेको थियो ।
बुधबार भएको चौथो खेलमा नेपालका बलर हावी हुदाँ थाइल्यान्ड ‘ए’ ले १५.४ ओभरमा सबै विकेट गुमाएर १९ रन मात्र बनाउन सक्यो । २० रनको लक्ष्य पाएको नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर जित दर्ता गर्यो ।
थाइल्यान्ड ‘ए’ लाई अलआउट गर्ने क्रममा नेपालकी आरती बिडारीले सर्वाधिक ३ विकेट लिइन् । ४ ओभरमा एक मेडनसहित ५ रन दिएकी बिडारी प्लेयर अफ द म्याचसमेत बनिन् । यस्तै, सरिता मगर र इन्दु बर्माले समान २ तथा रुबिना क्षेत्री, सोनु खड्का र सीता रानामगरले समान १ विकेट लिए ।
थाइल्यान्डका चार ब्याट्सम्यान खाता नै नखोली पेभिलियन फर्किए । थाइल्यान्ड ‘ए’ का लागि थानचानोक फोप्लुकले सर्वाधिक ४ रन प्रहार गर्नुबाहेक अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।
२० रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको नेपालकी ममता चौधरीले ८ रन जोडिन् । यस्तै, नेरी थापा ५ तथा डली भट्ट २ रनमा नटआउट रहे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।