पेन्टागनको चिन्ता : जमिनदेखि अन्तरिक्षसम्म धावा बाेल्ने घातक सेना बनाउँदै छ चीन

पेन्टागन– जमिनदेखि समुद्र र अन्तरिक्षसम्म तथा साइबर क्षेत्रमा आधुनिक क्षमतासहितको घातक सैन्यबल बनाउन चीन लागिपरेको एक अमेरिकी इन्टेलिजेन्स अफिसरले बताएका छन् । यसको माध्यमबाट चीनले दुनियाँमा आफ्नो धाक जमाउन चाहेको उनको विश्लेषण छ । 

मंगलबार पेन्टागन आयोजित एक कार्यक्रममा अमेरिकी वरिष्ठ जासुसी विश्लेषक डेन टेलरले चिनियाँ कम्युनिस्ट पार्टीको कूटनीतिक उद्देश्यमा ‘चीनलाई महाशक्तिको दर्जा दिलाउनु’ पनि रहेको बताए । कार्यक्रममा अमेरिकी रक्षा  विभागले कंग्रेसको ‘चीनको सैन्य शक्ति : युद्ध र विजयका लागि सेनाको आधुनिकीकरण’ विषयक रिपोर्टसमेत सार्वजनिक गर्यो । 

चिनियाँ नेताले आफ्नो दीर्घकालिक सैन्य आधुनिकीकरण कार्यक्रम महाशक्तिको दर्जा हासिल गर्नका लागि अनिवार्य मानेका टेलरको बुझाइ छ ।

टेलरको भनाइमा चीनले पछिल्लो दशक अडेनको खाडीमा समुद्री डकैतीविरुद्ध अभियान चलाएको थियो । यसबाट पूर्वी र दक्षिणी चिनियाँ सागरमा सेनाको उपस्थिति बढेको छ । यो सबै कार्यबाट उसले आफ्नो सेनाको राष्ट्रिय शक्ति प्रदर्शन गर्ने इच्छा देखाएको छ । 

भविष्यमा परमाणु सन्तुलन, शक्तिप्रदर्शन, साइबर क्षेत्र, अन्तरिक्ष र इलेक्ट्रोनिक स्पेक्ट्रमजस्ता क्षेत्रका आधुनिकीकरण चिनियाँ सेनाको बढ्दो क्षमतामा अहम कारक बन्ने टेलरको विश्लेषण छ । 

टेलरको बुझाइमा चीन मानवीय सहायता र आपत्कालीन राहतजस्ता गैरयुद्ध अभियान, समुद्री डकैतीविरुद्धको अभियान र शान्ति रक्षा अभियानका लागि पनि क्षमता विस्तार गरिरहेको छ । आउँदा केही सालमा चिनियाँ सेना अन्य आधुनिक सेनाभन्दा प्राविधिक रुपमा ज्यादा सक्षम र हतियारमा पनि ज्यादा कुशल हुन सक्ने उनको आकलन छ । 



रक्षा विभागको रिपोर्टअनुसार चीन मध्यम र लामो दुरीका नयाँ स्टिल्थ अर्थात् राडरसँग बचेर प्रहार गर्न सक्ने बमवर्षक पनि बनाइरहेको छ । यी बमवर्षक क्षेत्रीयदेखि लिएर विश्वभर लक्ष्य साध्न सक्ने क्षमताका छन् । २०२५ सम्म यी बमवर्षक विमान प्रयोगयोग्य हुने अमेरिकाको अनुमान छ ।

एक रिपोर्टमा अमेरिकी रक्ष विभाग पेन्टागनले चीन हिन्द महासागरलगायत सागरहरुमा आफ्नो सैन्य उपस्थिति बढाउन विभिन्न विदेशी बन्दरगाहसम्म आफ्नो पहुँच विस्तार गरिरहेको छ । यसबाट उसलाई भविष्यमा विभिन्न बन्दरगाहसम्म सैन्य बल पुर्याउन सहयोग मिल्नेछ । 



पेन्टागनले बताएको छ कि चीन पहिलो स्वदेशी विमानवाहक पोत बनाइरहेको छ, जसको प्राथमिक उद्देश्य क्षेत्रीय रक्षा अभियानमा मद्दत पुर्याउनु हो । बेइजिङ सम्भवतः हिन्द महासागर र दक्षिणी चिनियाँ सागरमा शक्तिप्रदर्शन गर्न यसको उपयोग गर्नेछ । 

  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार २१:४०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया