एजेन्सी– संयुक्त राष्ट्रसंघका करिब एक तिहाइ कर्मचारी पछिल्लो दुई वर्षमा यौन शोषणको शिकार भएको तथ्यांक सार्वजनिक भएको छ । दुव्र्यवहारको बारेमा संयुक्त राष्ट्र संघमा गरिएको यो सर्वेक्षण पहिलो हो ।
नोभेम्बरमा गरिएको सर्वेक्षणमा ३०,३६४ कर्मचारीहरू सहभागी थिए।
सर्वेक्षणको नतिजाअनुसार पछिल्लो दुई वर्षमा करिब ३३ प्रतिशत कर्मचारी कम्तिमा एक पटक यौन शोषणमा परेका छन् । यौन दुव्र्यवहार गर्ने तीन व्यक्तिमा दुई पुरुष र चार व्यक्तिमा एक निरिक्षक वा प्रबन्धक भएको रिपोर्टमा उल्लेख छ ।
डेलोइटले तयार पारेको सो प्रतिवेदनअनुसार यौन शोषण गर्ने प्रत्येक १० जना मध्ये एक व्यक्ति संस्थाका बरिष्ठ कर्मचारी रहेका छन् । यौन शोषणअन्तर्गत यौनसँग सम्बन्धित चुट्किला वा कथाहरु सुनाउने, महिलाको कपडा, शरीर वा यौन गतिविधिमा अश्लील टिप्पणी गर्ने जस्ता क्रियाकलापहरु गरेको सर्वेक्षणबाट देखिएको छ ।
सर्वेक्षणको नतिजापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्सले कर्मचारीलाई एक पत्र लेख्दै यस्तो नतिजाले आफूलाई निकै दुखी बनाएको र यो अवस्थाको अन्त्यका लागि संयुक्त राष्ट्र संघको कार्यस्थल सुधार्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
उनका अनुसार सर्वेक्षणको नतिजाबाट अन्य संगठनमा भन्दा यसमा यौन शोषण कम हुने गरेको देखिएको छ । तर विशेष महत्व र उच्च प्रतिष्ठा भएको संयुक्त राष्ट्रसंघको उच्च मानक तय गर्नु आवश्यक रहेको महासचिवको भनाई छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।