संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी चढेको ट्याक्टर दुर्घटना भएको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुमकटामा दुर्घटनामा पर्दा ४२ जना घाइते भएका छन् ।
ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेको संख्या ४२ पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
को२त ३९६१ ट्याक्टर पल्टिएर दुई मलामीको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की रहेको सुवेदीले बताए ।
दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । ट्याक्टर दुर्घटनामा परेर भने ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सातजनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गई दहासंस्कार गरी पुनः मलामी बोकी फर्किने क्रममा ट्याक्टर दुम्कटामा दुर्घटनामा परको हो । चैनपुर–१० की ९० वर्षीय कौशिला अधिकारीको मलामी गएका दुर्घटनामा परेका हुन् ।
सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्याक्टरको लोडपिन अचानक भाँचिन गई रोडको बाँयातर्फ पल्टिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।