राष्ट्रियसभा : सांसदको प्रश्‍न - त्रिविमा प्र‍श्‍नपत्र दोहोरिने बेथिति कहिलेसम्म ?
सांसदले उठाएर प्रदेश प्रमुखले आफन्तको नाममा कोष बनाएकोदेखि तुइनसम्मका विषय
फाइल तस्वीर

राष्ट्रियसभा सदस्य सांसद दिलकुमारी रावल थापा पार्वतीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्रसम्बन्धी भएको बेथिति रोक्न सरकारलाई ध्यानाकर्षण गराएकी छन् ।

मंगलबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसद रावल थापा पार्वतीले त्रिभुवन विश्व विद्यालयको गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परीक्षामा एउटै प्रश्न दोहोरिएको विषय बाहिर आएकाले यस्तो खालको बेथिति सरकारले रोक्नु पर्ने बताइन् ।

'त्रिविको गत वर्षको स्नातकोत्तर परीक्षा र यस वर्षको परिक्षा एउटै प्रश्न दोहोरिएको छ । यो स्नातकोत्तर मात्रै कुरा होइन भर्खरै स्नातक तहको परीक्षामा पनि त्यही घटना दोहोरिएको छ । यो बेथिति कहिलेसम्म ?’ उनले भनिन् ।

उनले स्नातकोत्तर र स्नातक परीक्षाको प्रश्नपत्र अंग्रेजीमा र उत्तर लेख्दा नेपाली र अंग्रेजी दुबैमा खुल्ला भएकाले यो व्यवस्था प्रश्नपत्र पनि नेपाली अंग्रेजी दुबैमा राख्नु माग गरिन् ।

सांसद अनिता देवकोटाले संविधानले व्यवस्था भए बमोजिम तीन नै तहको सरकार नचलेको बताइन् । उनले तीन तहका सरकारबीचको अन्तर सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयकर्ताको सिद्धान्तका आधारमा संविधानको व्यवस्था भएता पनि यसको पालनासमेत नभएको बताइन् ।

देवकोटाले संविधानको रक्षाको लागि नागरिकलाई केन्द्रविन्दुमा राखेर राज्य सञ्चालनमा तीन तहका सरकारको ध्यान जानु पर्ने बताइन् । उनले भन्नुभयो, ‘संविधानको रक्षाको लागि नागरिकलाई केन्द्रविन्दुमा राखेर राज्य सञ्चालनमा तीन तहका सरकारको ध्यान जाओस् ध्यानाकर्षण गराउन चाहन्छु ।’



त्यस्तै, सांसद इन्दु कडेरियाले वर्तमान सरकारले तुइन विस्थापित गर्ने कार्यलाई प्राथमिकता नदिँदा वर्षैपिच्छे महाकाली नदीमा तुइनबाट खसेर मानिसहरुले ज्यान गुमाउन परेको बताए । उनले सरकारले तत्काल महाकाली नदीको ११ स्थानमा ओली सरकारले तुइन बनाउने योजना अनुसार तुइन निर्माण कार्य अगाडि बढाउनु पर्ने माग राखिन् ।

उनले भनिन्, ‘तुइनलाई विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने ओली सरकारको योजना थियो तर केही स्थानमा तुइन विस्थापित भएर पुल बनिसके तर वर्तमान सरकारले त्यसलाई निरन्तरता नदिँदा पुल बन्न सकेका छैनन् । त्यस्ता घटना दोहरिरहेका छन् ।'



सांसद खिमलाल देवकोटाले मुलुकमा सरकार नै नभएको आभास भइरहेको बताए । उनले सरकार भए पनि नभएको जस्तै देखिएको भन्दै ललितपुरको भैँसेपाटीको ५ सय मिटर सडक लथालिङ्ग भएर ६ वर्षदेखि हिलाम्मे हुँदासमेत ध्यान नगएको बताए ।

सांसद देवकोटाले ६ वर्षसम्म सांसदको कुरा उठाउँदासमेत बन्न नसक्नुको कारण भौतिक पूर्वाधार मन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग राखे ।

उनले भने, ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, दुई पटक अर्थमन्त्री भएका विष्णु पौडेल,तत्कालिन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, रामदेव गौतम हिँड्ने जम्मा पाँच सय मिटर बाटो ६ वर्षदेखि लथालिङ्ग छ । यो बाटो किन नबनेको भौतिक पूर्वाधार मन्त्रीलाई संसदमा जवाफ दिन माग गर्दछु ।’

त्यस्तै, सांसद नन्दा चपाईंले शिशु अवस्थामा हुर्कंदै गरेको संघीयता माथि प्रश्न उठ्ने गरी प्रदेश सरकारले काम गरेको बताइन् । उनले गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीको बुबा-आमाको नाममा प्रतिष्ठान खोलेर कोषमा बजेटमार्फत रकम जम्मा गर्नु दुःखद भएको बताइन् । उनले सरकारले त्यस्तो अनियमित रोक्न माग गरिन् ।

उनले भनिन्, ‘प्रदेश प्रमुखको आमा बुबाको नाममा प्रतिष्ठान निर्माण गर्ने कोषमा पैसा जम्मा गर्ने खबर आएको छ । कोषमा रकम जम्मा गर्ने कुरा निषेध गर्नुपर्छ ।’

सांसद प्रकाश पन्थले आदिकवि भानुभक्त आचार्यको जन्म स्थान तनहुँको चुदिरम्गालाई सरकारले उपेक्षा गरेको बताए । उनले भानुभक्तको जन्म स्थानलाई सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको बताए ।

उनले भने, ‘आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुदिरम्गा उपेक्षामा परेको छ । यसले अपेक्षाकृत फड्को मार्न सकि रहेको छैन । सरकारको प्राथमिकता र ध्यान पुगोस् भन्ने अनुरोध गर्नू चाहन्छु ।’

सांसद पन्थले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुदिरम्गा आन्तरिक तथा साहित्यिक पर्यटकको प्रचुर सम्भावना भएका भन्दै सरकारको प्राथकितामा राख्न आग्रह गरे ।

  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १३:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया