संसदमा अड्किएका विधेयक हेर्न विशेष संसदीय समिति गठन गरौँ : देवेन्द्र दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले प्रतिनिधिसभा र राष्ट्रियसभामा धेरै विधेयक अड्किएर बसेको बताए । उनले संसदमा अड्किएर रहेका तथा विचाराधीन विधेयकलाई हेर्नेगरी दुवै सदनमा अनुगमन, सुपरिवेक्षण र सुझाव समिति गठन गर्नुपर्ने बताए । 

उनले सरकारको वेवास्ताका कारण संसदमा विधेयक र कानूनहरु अलपत्र परेको भन्दै सो समितिले विधेयकको अवस्थाको सम्बन्धमा कुनै पनि समयमा अनुगमन, सुपरिवेक्षण गर्ने र झक्झकाउने काम गर्नसक्ने उल्लेख गरे । 

उनले भने – ‘बिजनेस ल्याउने विधेयक दिने भनेको त सरकारले नै हो । त्यसको ड्राफ्ट पेश गर्ने भनेको त सरकारले नै हो । त्यसकारण त्यसका लागि एउटा समिति निर्माण हुनुपर्छ भन्ने म जोडदार माग राख्न चाहान्छु ।’

सांसद दाहालले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेकोप्रति विरोध जनाए । विगतमा केपी ओली नेतृत्वको सरकारले जे कुरा ल्याएको थियो विधेयकमा सोही कुरा ल्याएको भन्दै उनले सरकारले जे कुराको विरोध गरेको हो सोही कुरा ल्याएको बताए । 

उनले सो विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रियसभाका अध्यक्षले सभामा छलफल गराउनुपूर्व सभामुखको धारणा पुरानै हो कि फेरिएको हो सोध्नुपर्ने बताए । सरकारले सत्ता टिकाउनका लागि मात्रै विधेयक ल्याएको उनको भनाइ छ । 



उनले वर्तमान सरकारसँग नैतिकता नरहेको बताए । सांसद दाहालले शून्य समय र विशेष समयमा प्रस्तुत विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि मन्त्रीहरूले जवाफ नदिने गरेको बताए । उनले जवाफ नदिने मन्त्रीलाई नियमावलीको व्यवस्था अनुरुप मुद्दा हाल्ने पनि बताए ।



  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १३:४८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया