पुनः प्रकाशित हुन थाल्यो साहित्यिक पत्रिका ‘गरिमा’

साहित्यिक पत्रिका ‘गरिमा’को पुनः प्रकाशन सुरु भएको छ । २०९औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनले मंगलबार पुल्चोकस्थित कार्यालय परिसरमा विशेष कार्यक्रम गरी ‘गरिमा’ साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो ।

नेपाली साहित्य जगत्मा नै उच्च प्रतिष्ठा कमाएको ‘गरिमा’को प्रकाशन ०७५ मंसिरदेखि रोकिएको  थियो । नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा ०३९ पुसबाट प्रकाशन प्रारम्भ भएको ‘गरिमा’ साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक संकटसँगै ०७५ कात्तिकमा पूर्णांक ३९६ निस्किएर बन्द भएको थियो । 

आर्थिक संकटका कारण ‘गरिमा’ ०७५ मंसिरदेखि प्रकाशन हुन सकेको थिएन । ‘गरिमा’को वर्ष ३९, अंक १, पूणांक ३९७ लाई ०७९ साउन अंक मानिएको छ । भाषा–साहित्य, कला–संस्कृति र शिक्षाको विकास, विस्तार एवं विविधीकरणमा शताब्दीभन्दा बढी ऐतिहासिक यात्रा पार गरेको साझा प्रकाशन विगत लामो समयदेखि राजनीतिक खिचातानीका कारण उत्पन्न परिस्थितिले सिर्जना गरेको चरम आर्थिक संकट व्यहोर्दै आएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ‘गरिमा’को साउन अंक पुनर्विमोचन गरिन् । विसं १९७० मा स्थापित गोर्खा भाषा प्रकाशिनी समिति १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित हुँदा यो दक्षिण एसियाकै पहिलो साहित्यिक–सांस्कृतिक संस्था बनेको थियो । 

तत्कालीन परिवेशमा साहित्य सेवा र पाठ्यपुस्तक निर्माण, प्रकाशन गर्ने नेपाली भाषा प्रकाशिनी समितिले ०२१ सालमा साझा प्रकाशनको नाममा उत्तराधिकारसहित निरन्तरता पाएको थियो । १ सय १० वर्षको इतिहास बोकेको साझा प्रकाश आफूले गर्दै आएका कामबाट वञ्चित भएपछि अहिले गहिरो आर्थिक समस्या झेलिरहेको छ । 

६० प्रतिशत सेयर नेपाल सरकारमा रहेको यस सहकारी संस्थामा १५ सयभन्दा बढी साहित्यकार, पत्रकार, कलाकार, शिक्षासेवी र संस्कृतिकर्मी सेयर सदस्य छन् । तर, संस्था भने व्यावसायको माध्यमविहीन भएको छ ।



पहिले पाठ्यपुस्तक निर्माण र प्रकाशनमा केन्द्रित साझा प्रकाशनलाई सरकारी नीतिअनुरूप ०२८ सालपछि पाठ्यपुस्तक वितरणमा सीमित गरिएको थियो । देशव्यापी पाठ्यपुस्तक बिक्रीवितरणबाट हुने सीमित मुनाफालाई प्रकाशनको माध्यमबाट साहित्य सेवामा लगाएको साझा प्रकाशनलाई ०६९ पछि पाठ्यपुस्तक बिक्रीवितरणबाट पनि वञ्चित गरिएको छ । 
त्रिविले सञ्चालन गरेको प्रवीणता प्रमाणपत्र र पछि उच्च माध्यमिक शिक्षा परिषद्बाट सञ्चालित ११, १२ कक्षाका अनिवार्य विषयका पाठ्यपुस्तक मुद्रण र बिक्रीवितरण गर्दै आएको थियो । तर, सरकारले ०७६ देखि यी कामबाट साझा प्रकाशनलाई वञ्चित गरेको थियो । 

गत महिना शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभामा ‘कक्षा ११ र १२ का पाठ्यपुस्तक साझा प्रकाशनमार्फत मुद्रण र बिक्रीवितरणको व्यवस्था मिलाइएको’ जानकारी दिए पनि अहिलेसम्म मन्त्रालयबाट नै छपाइको आवश्यक प्रक्रिया अघि बढ्न सकेको छैन ।
 



  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १८:५७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया